मानव तस्करी बन्दै म्यारिज ब्युरो

0 44
सुवास गोतामे |२०७२ आस्विन ९ शनिबार
काठमाडौं: चितवनकी रीता (नाम परिवर्तन) चीन जाने चक्करमा काठमाडौं आइन्। चीन जान उनलाई भाषा प्रशिक्षण अनिवार्य थियो । भाषा प्रशिक्षणका लागि रीता बागबजारको एक कोरियन भाषा प्रशिक्षण केन्द्रमा पुगिन्। त्यहाँ उनीजस्ता थुप्रै युवती थिए।
रीतालाई सोलखुम्बुकी सम्झना (नाम परिवर्तन) ले चीन जाने छोटो बाटोबारे जानकारी दिइन्। चिनियाँ नागरिकसँग विवाह गर्ने र सजिलै चीन पुग्ने उनको सुझाव थियो । सुरुमा रीतालाई डर पनि लाग्यो । कतै पैसा कमाउने चक्करमा शरीर नै बेच्नुपर्ने त होइन !
सम्झनाले रीतालाई राजधानीको चुनदेवीस्थित छेरु इन्टरनेसनल म्यारिज ब्युरोको कार्यालय पुर्‍याइन्। सामान्य कुर्तासुरुवालमा पुगेकी रीतालाई ब्युरोमा पुगेलगत्तै महँगो कुर्तासुरुवाल र मोबाइल दिइयो।
मिठो खाना र कोरियन भाषा सिक्नसमेत ब्युरोले नै पैसा लगानी गर्ने भनेपछि उनी मख्ख परिन्। रीतालाई अझ सुन्दर बनाउन ब्युरोले ब्युटिपार्लर पठायो । म्यारिज ब्युरोका नाममा उक्त संस्थाले नेपाली युवतीलाई चीन र कोरियामा ‘तस्करी’ गर्दै आएको थियो।
दुई महिनासम्म ब्युरोको आतिथ्यमा रमाएकी रीतालाई हेर्न कोरियाबाट एउटा टोली नेपाल आयो। तर त्यहाँ रीता मात्रै थिइनन्। अन्य नौजना युवती पनि थिए। ती युवती कोही चिनियाँ र कोही कोरियनसँग बिहे गर्न तयार थिए।
ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट किर्ते बसाइँ सराइ दर्ताका आधारमा रीतालगायत नौजना युवतीको नागरिकतासमेत बनाइएको थियो।नेपाली युवती हेर्न कोरियाबाट आएका थिए पार्क ही च्याङ।
उनले युवती हेरेपछि कोरिया र चीनमा फोटो पठाउँथे। फोटो मन परेपछि चीन र कोरियाबाट नेपाली युवती विवाह गर्न नेपाल आए।
नेपाली युवतीको राहदानी बनाउने र विदेश पठाउने जहाजको टिकट खर्चसमेत ब्युरोले गर्दै आएको थियो। रीता पनि चिनियाँ केटासँग विवाह गर्न तयार भइन्। उनी २०७१ भदौमा चीनतर्फ हानिइन्।
रीतालाई चीनको उत्तरी प्रान्त हर्विनमा पुर्‍याइयो। गएकै दिन रीतालाई, ‘तिमीले मलाई छोरा जन्माइदिनुपर्छ’ भनियो । उनलाई पतिको नामसमेत थाहा थिएन।
उनलाई दिएको आश्वासन र चीन पुर्‍याएपछि आफूमाथि भएको व्यवहार ठीक उल्टो निस्कियो। पाँच महिनासम्म रीतामाथि कुटपिट मात्रै भएन, परिवारका अन्य सदस्यले समेत यौन दुव्र्यवहार गरे।
रीताले परिवारमार्फत सम्पर्क गरी चीनस्थित नेपाली दूतावासमा आफू बेचिएको खबर गरेपछि उनलाई दूतावासले गत वर्ष माघको अन्त्यतिर नेपाल डिपोट गर्‍यो। मासिक सयदेखि दुई सय डलर कमाउने रीताको योजना चकनाचुर बन्यो।
रीतासँग अन्य सूचना थाहा पाउन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोधपुछ गर्दा उनले दुःख पाएका र नेपाली युवतीलाई कसरी चीन र कोरियामा बिक्री गरिँदो रहेछ भन्ने छर्लंग भयो।
सीआईबीले छेरुमा छापा मारी म्यारिज ब्युरोकी सञ्चालक पासाङ शेर्पा भनिने छेरु शेर्पा, कोरियन नागरिक ही चाङ पार्क र नेपाली युवती खोज्ने विपिन नगरकोटीलाई पक्राउ गरेको छ। अहिले तीनैजना थुनामा छन्। म्यारिज ब्युरोमा प्रहरी पुग्दा पाँचतारे होटलभन्दा कम थिएन।
कोठाको सजावटका लागि धेरै खर्च गरिएको थियो। सीआईबीले उक्त ब्युरोमा चीन तथा कोरिया पठाउन तयारी अवस्थामा रहेका ६ जना युवतीको उद्दारसमेत गरेको थियो।
म्यारिज ब्युरोका नाममा हुने गरेको नेपाली युवती तस्करीको घटनामा रीता एउटा प्रतिनिधि पात्रमात्रै हुन्।उनले सीआईबीमा दिएको बयानअनुसार दर्जनौं युवतीलाई चीन तथा कोरियामा यसैगरी बिक्री गरिएको छ।

उपत्‍यकामा ८३ वटा म्‍यारिज ब्‍युरो खोल्‍न अनुमति दिइएको छ। अनुमति लिएकामध्‍ये अधिकांशका कार्यालय छैनन्। 
मानव तस्कर गिरोहले नेपाली युवती तथा महिलालाई वस्तुझैं व्यापार गर्न अनेक धन्दा अपनाइरहेका छन्। सीआईबीले पहिलोपटक म्यारिज ब्युरोमा छापा मारेपछि अन्य म्यारिज ब्युरोको खोजी सुरु गरेको थियो।
प्रहरी अनुसन्धानले उपत्यकामा मात्रै ८३ वटा म्यारिज ब्युरो खोल्न अनुमति पाएको देखाएको छ। अनुमति लिएका कार्यालय भने अधिकांश स्थापना भएका थिएनन्। गोप्य रूपमा सञ्चालित त्यस्ता म्यारिज ब्युरोमा प्रहरीले निगरानी बढाएको छ।
एसपी बज्राचार्यका अनुसार केही दिनअघि मात्रै तीनजना नेपाली युवती रीताको जस्तै यातना सहेर चीनबाट नेपाल फर्किएका छन्। तर उनीहरु प्रहरी सम्पर्कमा आएका छैनन्। ‘छिटो पैसा कमाउने आशा बाकेका र गरिबीको चपेटामा परेका त्यस्ता युवती तथा महिला छिटो दलालको नजरमा पर्छन्।
‘अनेकौ आश्वासनमा रमाईरमाई खाडी मुलुकसँगै चीन, कोरिया र अफ्रिकी मुलुकमा पुगेका सयौं महिला अहिले शारीरिक तथा मानसिक यातनाबाट प्रताडित छन्’, एसपी बज्राचार्यले भनिन्।
०००
दुबई भनेर हिँडेकी रेनु सिरियामा

बुटवलकी रेनु (नाम परिवर्तन) घरेलु कामदारका लागि विदेश जाने चक्करमा परिन्।गाउँका चिनजानकै व्यक्तिको सिफारिमा दुबई जाने निधो गरिन्।
बुटवल प्रगतिनगरका शोभाकान्त भट्टराई र काठमाडौंका पन्चु लामामार्फत उनी सडकमार्ग हुँदै दिल्ली पुगिन्। दिल्लीमा पुगेर उनलाई दुबईका दलालले ६ हजार डलरमा सिरियन दलाललाई बिक्री गरे।
रेनुलाई सिरिया पुर्‍याएपछि मानसिक तथा शारीरिक यातना दिन थालियो। एक वर्षसम्मको यातनाका कारण उनको छातीमा घाउ भएपछि शल्यक्रिया गर्नुपरेको थियो।
बिहान चार बजेदेखि राति १२ बजेसम्म रेनुले अनेकौ दुव्र्यवहार सहनुपर्‍यो। घर जान्छु भन्दा पनि सिरियनले ‘तँलाई ६ हजार डलर तिरेको छु। जान पाउँदिनस्’ भनेर धम्क्याउने गरेको रेनु बताउँछिन्।
विभिन्‍न संघसंस्थाको सहयोगमा उनी गत शनिबार नेपाल फर्किएकी छन्। रेनुका अनुसार सिरियामा दर्जनौं महिला यस्तै पीडा भोग्न बाध्य छन्।
श्रीलंका बन्यो दिल्लीको ट्रान्जिट
साउदी कूटनीतिज्ञबाट दुर्व्यवहार भोगेका दुई नेपाली महिलाको बयानअनुसार उनीहरूलाई श्रीलंका हुँदै साउदी पुर्‍याइएको थियो। उनीहरूका अनुसार श्रीलंकामा अहिले सयौं युवतीलाई दुबई, साउदी, कतारलगायतका खाडी मुलुकमा लैजाने भन्दै बन्धक बनाएर राखिएको छ।
तान्जेनिया, केन्या, युगान्डा, मलेसिया, ओमान, बहराइन र युएईका डान्सबारमा नेपाली युवती तथा महिलाको तस्करी भइरहेको छ। प्रहरीले दिल्लीपछि श्रीलंका दोस्रो ट्रान्जिट प्वाइन्ट भएको पाएको छ।
सीआईबीले गत फागुनमा खाडी र अफ्रिकी मुलुकमा नेपाली युवतीलाई डान्सबारमा पठाउने गिरोहलाई पक्राउ गरेको थियो। त्यति बेला उक्त गिरोहले सुरुमा युवतीलाई ब्युटिपार्लरमा पठाउने र फोटो स्टुडियोमा युवतीको मोडलिङ फोटो खिचाएर खाडी र अफ्रिकी मुलुकमा फोटो पठाएर छान्न लगाउने गरेको खुलेको छ।
यो क्रम अहिले पनि जारी रहेपनि प्रहरीले पर्याप्त प्रमाण नहुँदा गिरोह पक्राउ गर्न नसकेको सीआईबीकी एसपी बज्राचार्य बताउँछिन्। पछिल्लो समयमा कुर्दिकिस्तानको सुलेमानिया भन्ने सहरमा सयौंको संख्यामा नेपाली महिला घरेलु कामदारमा छन्।
सरकारले कुर्दिकिस्तानमा श्रम स्वीकृति दिएको छैन। तर दलालले अनेकौं तरिका अपनाएर त्यस्ता मुलुकमा पठाउँदै आएका छन्। सुलेमानियमा अहिले दुई हजार पाँच सयदेखि तीन हजार नेपाली महिला तथा पुरुष वैदेशिक रोजगारीमा छन्।
प्रहरी सहचारी आवश्यक
खाडी मुलुक खासगरी नेपाली कामदार पुगेका मुलुकमा प्रहरी सहचारी अत्यावश्यक रहेको प्रहरीले औंल्याएको छ।
प्रहरी मुख्यालयले कतार, दुबई, मलेसिया, साउदी अरेबियालगायतका सातवटा मुलुकमा प्रहरी सहचारी राख्न गृह मन्त्रालयलाई प्रस्ताव राखेको चार महिना बितिसक्दा पनि गृहले निर्णय दिएको छैन।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले मानवतस्करी रोक्न र खाडी मुलुकमा नेपाली कामदारमाथि भएको अपराधजन्य घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन प्रहरी सहचारी राख्ने अवधारणा अगाडि सारिएको बताए।
उनले भने, ‘हामीले नेपाली कामदार बढी भएका मुलुकमा प्रहरी सहचारी राखौं भनेर गृहमा प्रस्ताव गरेको चार महिना बितिसक्यो तर गृहबाट कुनै प्रक्रिया अगाडि बढेन।’ भारतबाहेक अन्य मुलुकमा प्रहरी सहचारी छैनन्।
नेपाल सेल्टर बन्दै
नेपालबाट मानव तस्करी भइरहेको अवस्थामा नेपालभित्रै विदेशी नागरिक सेल्टल लिएर बस्ने गरेको पाइएको छ।
बंगलादेशी र सिरियालीहरू सेल्टर लिएर बस्ने गरेको प्रहरीले जनाएको छ। बंगलादेशीलाई खाडी मुलुकमा वैदेशिक रोजगारीका लागि त्यहाँको सरकारले रोकेपछि उनीहरू नेपाल आउने र सेटिङ मिलाएर नेपाली नागरिकता लिई राहदानीसमेत बनाएर खाडी मुलुकमा रोजगारीका लागि जाने गरेको दाबी प्रहरीको छ।
प्रहरीको विशेष प्रतिआतंकवाद सेलका प्रमुख डीआईजी बमबहादुर भण्डारीका अनुसार बंगालीहरू भारतबाट काकडभिट्टा हुँदै नेपाल प्रवेश गर्ने र नेपाली नागरिकता र राहदानी बनाएर खाडी मुलुक पुगेको अवस्था छ।
 उनका अनुसार इरान र अफगानिस्तानबीच द्वन्द्व बढेपछि सिरियाली नक्कली डकुमेन्टका आधारमा नेपाल प्रवेश गरेका छन्।हालसम्म प्रहरीले ६० जना सिरियालीलाई किर्ते कागजातका आधारमा नेपाल प्रवेश गरेको भन्दै फर्काएको छ।
‘तेस्रो मुलुकमा नागरिकको सेल्टर र ट्रान्जिट भूमिमा नेपाल पनि बिस्तारै प्रयोग भइरहेको छ। यस विषयलाई सरकारले गम्भीर भएर सोच्नुपर्छ’, भण्डारीले भने।