माने बाबुराम अध्यक्ष, नमाने रामचन्द्र झा

0 14
जनकपुरधाम: एमाओवादीका मधेसी तथा असन्तुष्ट सांसदलगायत केन्द्रीय नेताहरूले मधेसको अधिकार कुण्ठित गरी ल्याइएको संविधानलाई पार्टीले समर्थन गरेको भन्दै नयाँ पार्टी खोल्ने तयारी गरेका छन्।
एमाओवादी पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्यसहित सप्तरीदेखि रौतहटसम्मका मधेसी नेताकार्यकर्ताको शुक्रबार जनकपुरमा बसेको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहालले मधेससँग गद्दारी गरेको निष्कर्ष निकाल्दै मधेसलाई समर्थन गर्ने अगुवा नेताको नेतृत्वमा नयाँ पार्टी गठन गर्ने तयारी थालेको हो।
एमाओवादी पोलिटब्युरो सदस्य रामचन्द्र झा, महेन्द्र पासवानसहित केन्द्रीय सदस्यहरू रामरिझन यादव, गंगा श्रेष्ठ, घनश्याम यादव, उपेन्द्र साह र रामकुमार शर्मासहित ठूलो संख्यामा बैठकमा सहभागी एमाओवादीका नेताकार्यकर्ताहरूले अध्यक्ष दाहालले माओवादको सिद्धान्त बिर्सेर निजी स्वार्थका कारण सामन्तवादी सोच राख्ने प्रमुख दुई दलसामु आत्मसमर्पण गरेकाले अब यो नेतृत्व त्यागेर नयाँ पार्टी खोल्नुपर्ने बताएका थिए।
दाहालको नेतृत्वमा अब मधेसमा माओवादीको अस्तित्व नरहेकाले उपाध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मधेसी, आदिवासी, थारू, दलित र उपेक्षित वर्गको मागप्रति समर्थन जनाउँदै पार्टीभित्र विद्रोह गरेर निस्किए भने उनको नेतृत्वमा नयाँ पार्टी गठन गर्न सकिने माओवादी पार्टीभित्रै गठित मधेसी राष्ट्रिय मुक्तिमोर्चाका अध्यक्ष रामकुमार शर्माले बताए।
भट्टराईले पनि मधेसलाई समर्थन गर्ने हिम्मत देखाएनन् भने पोलिटब्युरो सदस्य रामचन्द्र झाको नेतृत्वमा नयाँ पार्टी गठन गरिने नेता शर्माले बताए।बैठकमा एमाओवादी नेता झाले दाहाल मधेसकै घाँटी रेटेर धोका लिएको आरोप लगाउँदै अब उनलाई मधेसी जनताले विश्वास नगर्ने बताए।
एमाओवादीको १० गते बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकमा कोही पनि मधेसी केन्द्रीय सदस्य उपस्थित नहुने जानकारी गराउँदै मधेसको आन्दोलनमा ऐक्यबद्धता जनाएर मधेसी राष्ट्रिय मुक्तिमोर्चाकै नेतृत्वमा आन्दोलन अगाडि बढाउने निर्णय बैठकले गर्‍यो।
बैठकले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनमा पूर्ण समर्थनको घोषणा गर्दै आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको छ। असोज १२ देखि १७ गतेसम्म मधेसका विभिन्न स्थानमा बृहत् भेला आयोजना गर्ने कार्यक्रम छ।
शुक्रबार एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराई जनकपुर आउने निर्धारित कार्यक्रम मधेसी मोर्चाको विरोधपछि स्थगित गरिएको थियो।