‘मधेसलार्इ मिलाउन अहिलेकै राष्ट्रपतिलाई निरन्तरता’

0 15

 

लिबाङ : कांग्रेसका नेता एवम् सांसद अर्जुननरसिंह केसीले अहिलेकै राष्ट्रपति रामवरण यादवलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।

जलजला धार्मिक महोत्सवका लागि रोल्पा आएका नेता केसीले शुक्रबार पत्रकारसँग यस्तो बताएका हुन् ।

‘मधेसमा देखिँदै गरेको अवस्थालाई ख्याल गरेर एक÷डेढ वर्ष अहिलेकै राष्ट्रपतिलाई निरन्तरता दिदा राम्रो हुन्छ’, पूर्वमन्त्री समेत रहेका केसीले भने, ‘राष्ट्रपति परिवर्तन गर्नैपर्ने भए जनजाति वा दलित मध्येबाट चयन गर्दा राम्रो हुन्छ ।’

चार दलबीच ७ वुँदे सहमति गर्दा प्रधानमन्त्री, राष्ट्रपति, व्यवस्थापिका संसदको सभामुखको पार्टीहरुले भागवन्डा नगरेको उनले दावी गरे ।

सात बुँदे सहमतिलाई कांगे्रस केन्द्रीय समितिले पारित नगरेको भन्दै अब वन्ने सरकारबारे भागबन्डा भएको हल्ला निराधार रहेको दावी गर्दै कांगे्रसले सरकार छाड्ने या अरुलाई समर्थन गर्नेबारे छलफल नै नभएको बताए ।

संसारमा कहीँ पनि सर्वसम्मतिमा संविधान बनेको इतिहास नभएको भन्दै प्रेस यूनियनको आयोजनामा सम्पन्न पत्रकार भेटघाटमा नेता केसीले अधिकतम सहमतिमा संविधान जारी हुनु सुखद भएको बताए ।

संविधान गतिशील दस्तावेज भएको भन्दै नेता केसीले असन्तुष्ट मधेस, आदिवासी जनजाति र दलित लगायतको जायज मागको वार्ता र सम्वादको माध्यमबाट सम्बोधन गर्ने दावी गरे ।

मधेसी पनि राष्ट्रवादी भएकाले उनीहरुको मागलाई अन्याथा लिन नहुने उनको जिकिर थियो ।

‘मधेसको जायज मागको वार्ता र संवादबाट सम्बोधन गर्न सकिन्छ । तर, हिंसाबाट होइन ।’, नेता केसीले
भने ।

भारतले नाकावन्दी गर्ने र जारी संविधानमा राख्नका लागि ७ बुँदे सुझाव पठाएको हल्ला निराधार भएको बताए । देशमा हिंसा र विवाद भएका बेला विवाद मिलाएर लैजाउ भन्ने छिमेकीको सुझावलाई गलत नठान्न समेत आग्रह गरे ।

धार्मिक स्वतन्त्रता र धर्म परिवर्तन दण्डनीय हुने व्यवस्था संविधानमा उल्लेख गरिएकाले धार्मिक सहिष्णुतामा समस्या नआउने उनले बताए । धार्मिक स्वतन्त्रता संविधानमा राखिएकाले धर्म निरपेक्षता संविधानमा नराखेको भएपनि हुने बताए ।

नेता केसीले जलजला धार्मिक महोत्सवलाई समेत सम्वोधन गरे । जिल्लाको पहिलो क्याम्पस जलजला बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको पढाई संचालन र अक्षयकोष निर्माणका लागि असोज ३ गतेबाट सुरु महोत्सवको छैठौं दिनको उनी प्रमुख अतिथि रहे ।