नेपालको समृद्धिका लागि नयाँ संविधान – मन्त्री पण्डित

0 15

Image result for मन्त्री पण्डित

 

काठमाडौँ, ८ असोज । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नयाँ संविधानले नेपालको समृद्धिको मार्ग प्रशस्त गरेको बताउनुभएको छ ।

डिकुरा पब्लिकेसन र रिड एन्ड ग्रो रिचको आयोजनामा आजदेखि भृकुटीमण्डपमा सुरु दोस्रो बृहत् पुस्तक प्रदर्शनी तथा साहित्यिक महोत्सव–२०७२ को शुभारम्भ समारोहमा उहाँले संविधानले देशलाई समृद्धि र विकासको मार्गमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो ।

नेपालको संविधान कुनै शिलालेख नभएको चर्चा गर्दै उहाँले राष्ट्रिय आवश्यकता र हितका आधारमा यसलाई समयसापेक्ष परिमार्जन गर्न सकिने बताउनुभयो ।

सभ्य समाज निर्माणका लागि पठन संस्कृतिको विकासले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा जोड दिँदै उहाँले पुस्तक प्रदर्शनी उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपालका लागि श्रीलङ्काका राजदूत डब्लू एम सेनेभिराथानले विभिन्न विधाका पुस्तक एकै स्थानमा प्राप्त गर्नका लागि प्रदर्शनी अत्यन्त उपयोगी हुने बताउँदै यो अवसरको अधिकतम उपयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

डिकुरा पब्लिकेसनका अध्यक्ष पुण्यप्रसाद प्रसार्इंले समाजको परिवर्तन र विकाससँग पठन संस्कृति प्रत्यक्ष जोडिएको उल्लेख गर्नु भयो ।
आगामी असोज १८ गतेसम्म चल्ने प्रदर्शनीमा एक लाखभन्दा बढी पाठक सहभागी हुने विश्वास लिइएको उहाँले बताउनुभयो ।

प्रदर्शनी एवम् महोत्सवका क्रममा उपत्यका स्तरीय हाजिरीजवाफ प्रतियोगिता, विभिन्न पुस्तक विमोचन, व्यक्तित्व सम्मानलागायतका कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।