प्रा डा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै

0 26

 

काठमाडौँ, ८ असोज । सरकारसँग भएको ११ बुँदे सहमति पालना नभएको भन्दै आमरण अनशनरत त्रिविवि शिक्षण अस्पताल हाडजोर्नी विभागका प्रा डा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।

छैठौँ अनशनले बिग्रिएको स्वास्थ्य तङ्ग्रिन नपाउँदै असोज २ गते शनिबार दिउँसोबाट सातौँ अनशन सुरु गर्नुभएका डा केसीको रक्तचाप र श्वासको गति उच्च हुँदै गएको उहाँको उपचारमा संलग्न प्रा डा दिव्यसिंह शाहले जानकारी दिनुभयो ।

तीन वर्षको अवधिमा चिकित्सा शिक्षा सुधारका लागि ६४ दिन अनशन बसिसक्नुभएका प्रा डा केसीलाई नर्मल स्लाइन दिइरहेको र उहाँको पिसाबमा समस्या देखिएको डा शाहले उल्लेख गर्नु भयो ।

पछिल्लो पटक माथेमा आयोगको प्रतिवेदन कार्यान्वयनको माग गर्दै भदौमा प्रा डा केसी १४ दिनको अनशन बस्नुभएको थियो । प्रा डा केसीले उठान गर्नुभएको माग र भावनालाई सरकारले राम्ररी बुझ्न नसकेको उहाँका सहयोगी प्रा डा जीवन क्षेत्रीले बताउनुभयो ।

पछिल्लो पटक सरकारले शिक्षा मन्त्रीको संयोजकत्वमा गठन गरेको चिकित्सा शिक्षासम्बन्धी आयोग र सो आयोगका सदस्यका बारेमा प्रा डा केसीेको असहमति छ ।