विगतको सम्झौता कार्यान्वयन गरे मात्र वार्ता हुन्छ उपेन्द्र यादव

0 14

 

सप्तरी, ८ असोज । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा मधेसवादी दलसँग भएको सम्झौता कार्यान्वयन भएमात्र अविलम्ब वार्ता हुनसक्ने बताउनुभएको छ ।

उहाँले आज सप्तरीको सदरमुकाम राजविराजमा पत्रकारहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै अहिले मधेसमा भइरहेको शान्तिपूर्ण आन्दोलनमा प्रहरी र प्रशासनबाट भइरहेको दमन तत्काल रोक्नुपर्ने, छावनीबाट बोलाइएको सेना फिर्ता गर्नुपर्ने, घाइतेको उपचार र क्षतिपूर्तिको पूर्र्ण व्यवस्था गर्नुपर्नेलगायतका माग पनि अघि सार्नुभयो । साथै, उहाँले तीन प्रमुख दलले आन्दोलनरत मधेसवादी दलसँग वार्ताको नाममा नाटक गरेको र वार्तातर्फ ठोस कार्ययोजनासहित पहल नगरेको आरोपसमेत लगाउनुभयो ।

मधेसी दलसँगको वार्तालाई जति लम्ब्यायो त्यति नै राज्यलाई घाटा हुने र अशान्ति बढ्ने चेतावनी पनि उहाँले दिनुभयो ।

विगतमा सरकारसँग भएको २२ बुँदे र आठ बुँदे सम्झौता कार्यान्वयनमा नल्याइए राजमार्ग केन्द्रित आन्दोलनलाई निरन्तरता दिइने उहाँको भनाइ थियो ।