तेह्र वर्षमा पनि पूरा भएन विद्युत् प्रसारण लाइनको काम

0 13

Image result for विद्युत् प्रसारण लाइनको काम

खोटाङ, ८ असोज । खोटाङको बुइपास्थित पञ्चेदोबाटोमा निर्माणाधीन ३३ केभी विद्युत् प्रसारण लाइनको काम १३ वर्षमा पनि पूरा भएको छैन ।

दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी हुलास स्टिल कम्पनीले २०५९ सालबाट निर्माण कार्य थालेको सव–स्टेसनको काम ठेकेदार कम्पनीको लापर्बाहीले पूरा हुन नसकेको हो ।

सव–स्टेसन अभावमा अहिले जिल्लामा अहिले ११ केभी प्रसारण लाइनको विद्युत् मात्र सञ्चालन गरिएको छ । जिल्लामा विस्तार गरिएको ११ केभी प्रसारण लाइनमा कम क्षमताको विद्युत् आउने गरेको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो ।

“साँझ पर्नासाथ समस्या पर्ने गरेको छ” उहाँले भन्नुभयो ।

कुल रु २७ करोड ३० लाखको लागतमा निर्माण कार्य सुरु गरिएको उदयपुरको जलजले–बुइपा–ओखलढुङ्गा ३३ केभी प्रसारण लाइनमा जलजलेदेखि खाँबुसम्म पूर्णरुपमा काम सकिएको आयोजना प्रमुख चन्द्रवीर खड्काले बताउनुभयो ।

“वर्षात्को कारण अहिले काम हुन सकेको छैन ।” उहाँले भन्नुभयो, “हिउँद लागेपछि सञ्चालनमा ल्याउँछौँ ।”

तेत्तीस केभी प्रसारण सुरु भएमा बुइपा सव–स्टेसन र लाहानबीच सिधा सम्पर्क स्थापित हुने विद्युत् प्राधिकरणका प्रमुख पुरुषोत्तम रेग्मीले बताउनुभयो । “अहिले सिधै लहान सम्पर्क गर्नुपर्ने अवस्था छ ।” उहाँले भन्नुभयो, “त्यसले गर्दा जिल्लामा लामो समयसम्म विद्युत् अवरुद्ध हुँदै आएको छ ।”

एघार केभी क्षमताको विद्युत् प्रसारण लाइनबाट जिल्लाका ३४ भन्दा बढी गाविसका नौ हजार ७५० उपभोक्ताले विद्युत् उपभोग गरिरहेका छन् । तेत्तीस केभी प्रसारण लाइन सुचारु गरे पछि सबै गाविसमा विस्तार गर्न सकिने प्राधिकरणले जनाएको छ ।

तेत्तीस केभीको प्रसारण लाइन सुचारु भएसँगै कम भोल्टेजका समस्याबाट मुक्ति पाउने अपेक्षा गरिएको छ । माथिल्लो सगरमाथाका खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा विद्युत् विस्तार गर्न ११ केभीलाई ३३ केभी बनाउने उद्देश्यका साथ काम थालिएको हो ।