आपूर्ति रोकिएको स्वीकार्दै भारतले भन्यो, ‘यो तिमीहरुकै कारण भएको हो’

0 6

काठमाडौं— अघोषित रुपमा नेपालमाथि नाकाबन्दी लगाएको भारतले शुक्रबार एक प्रेस नोट जारी गर्दै त्यसलाई घुमाउरो भाषामा स्वीकारेको छ। ‘त्यो सबै नेपालकै आन्दोलन र अस्थिरताको परिणाम’ भएको बताएको छ। सरकारले भारतीय राजदूत रञ्जि रेलाई नाकाबन्दी सम्बन्धमा जवाफ दिन बोलाएको पूर्व सन्ध्यामा भारतीय विदेश मन्त्रालयले यस्तो भनाइ सार्वजनिक गरेको हो।

‘नेपाल–भारत सिमाका धेरै ठाउँमा मालसामान अवरोध गरिएको थाह पायौं। त्यो सबै नेपालकै आन्दोलन र अस्थिरताको परिणामा हो’, भारतीय विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको प्रेस नोटमा भनिएको छ।

अहिलेको समस्याबारे अाफूहरूले पहिलै नेपाललाइ अवत गराएको भारतले बताएको छ। ‘हामीले पहिलेनै भनेका थियौं कि हाम्रा समान निर्यातकर्ता र ढुवानीकर्ताहरुले नेपालमा चलिरहेको आन्दोलनका कारण आवतजावतमा समस्या भोग्नुपरेको बताएका थिए र हामीले २१ सेप्टेम्बरमै यसबारे आधिकारिक जानकारी दिएका थियौं’, भारतले भनेको छ।

राजनीतिक तहबाट समाधान खोज्न भारतले आग्रह गरेको छ।

‘अझै पनि हामी दोहोर्‍याउँछौं कि यो राजनीतिक समस्या हो, नेपाली नेतृत्वले नै यसलाई सम्बोधन गर्नु जरुरी छ’, विज्ञप्तिमा भनिएको छ।

भारतले समस्याको जड पत्ता लगाउन पनि भनेको छ। ‘समस्याको जड पत्ता लगाएर प्रभावकारी र विश्वसनीय ढंगले यसको समाधान गरियोस्। अहिलेका मतभेदहरुलाई समाधान गर्दै सर्वस्विकार्य समाधान गरि त्यसलाई संस्थागत गरिनु पर्छ। हामी आशा गछौं कि स्थिति पहिले जस्तै सहज हुनेछ।’

जनप्रतिनिधिमूलक संस्था संविधान सभाले संविधान जारी गरेकोमा दक्षिणी छिमेकी अाक्रोसित बनेको हो। संविधान जारी गर्ने समयमा भारतले रोक्ने प्रयास गरे पनि त्यसलाई बेवास्ता गर्दै संविधानको अत्यधिक बहुमतले संविधान पारित गरेपछि दक्षिणी छिमेकी त्यसको प्रतिशोधमा उत्रिएको हो। नाकाबन्दी एव‌ं तारन्तारका उसका दवाबमूलक विज्ञप्तिलाई त्यही प्रतिशोधको पछिल्लो श्रृङ्खलाको रुपमा हेरिएको छ।

यसै हप्ता भारतीय पक्षले अंगिकृत नागरिकलाई नेपालको राष्ट्रपति तथा प्रधानमन्त्री पदसम्म पुर्‍याउनु पर्ने सहितका ७ बुँदे माग सम्बोधन गरे तराइमा जारी आन्दोलन साम्य हुने भनेर अनौपचारिक लबिङ गरेको थियो। मिडियामा त्यो सार्वजनिक भएपछि त्यसको चौतर्फी अालोचना भएको थियो। चौतर्फी विरोधपछि भारत अाफ्नो रणनीतिबाट पछि हट्दै अाफूले त्यसो नभनेको भनेर विज्ञप्ति जारी गर्न बाध्य भएको थियो।