नाकाबन्दीको हल्ला गर्ने बिरुद्ध भारतीय पक्षद्वारा कारवाहीकाे तयारी

0 4

वीरगञ्ज, असोज ७ । नेपालसँगको भारतीय सिमामा नाकाबन्दी गरिएको भन्ने हल्ला फैलाउने बिरुद्ध भारतीय दण्ड ब्यवस्था अनुसार कारवाहीको तयारी भएको त्यहाँका उच्च अधिकारीहरुले बताएका छन्। मंगलबार बिहानदेखि अन लाईन संचारमाध्यम र समाजिक संजालहरुमा छाएको नाकाबन्दीको चर्चाले उनीहरु तातेको नागरिक दैनिकमा खबर छ । भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी)का कमाण्डेन्ट आरके सिन्हाले त्यस्तो अफवाह फैलाउने बिरुद्ध विधि अनुसार कारवाहीको तयारी भएको बताएका छन्। ‘यो सम्बेदनशील विषय हो, दुई देशबीच मतभेद उत्पन्न गर्ने किसिमको अफवाहले हाम्रो ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘त्यस्ता अफवाह फैलाउने केही जनाको पहिचाल लगभग भइसकेको छ, र अफवाह फैलाउनु पनि अपराध भएकोले सोही अनुसार उनीहरु बिरुद्ध कारवाही गरिने छ ।’ नियमित कार्यक्रम बाहेक यतिखेर नेपालसँग सम्बन्धी कुनै पनि विषेश निर्देशन नभएको बरु सिमानाकामा वातावरण सहज बनाइराख्न आफूहरु प्रयासरत रहेको उनले दावी गरे । त्यसतै इण्डियन आयल कर्पोरेशन (आइओसी)का पटनास्थित कार्यालयका उप माहाप्रबन्धक बार्थो पाइनले नेपालको लागि आपूर्ती हुने इन्धन रोक्ने, कटौती गर्ने वा शिथिल पार्ने कुनै निर्णय वा निर्देशन नरहेको प्रष्ट पारे। उनले स्वभाविक रुपमा काम गर्न रक्सोलस्थित डिप्पोलाई दिइएकोमा कुनै दुविधा नराख्न सल्लाह दिए। ‘नेपाली माग अनुसार त्यहाँबाट आपूर्ति हुने हो, त्यो अहिले पनि साबिक रुपमा भइरहेको छ,’ उनले भने, ‘सिमामा अरु कुनै समस्या भए थाहा भएन् ।’ यता डिप्पोमा नेपाली ट्यांकरहरु तेल भर्न लामबद्ध देखिए । नाकाबाट आपूर्ति सहजै भइरहेको वीरगन्ज भन्सार कार्यालयले पनि जनाएको छ।