नाका ठप्प पारेर आन्दोलन चर्काउने मधेसी मोर्चाको निर्णय

सरकारविरुद्ध सर्वोच्च अदालत र अन्तर्राष्ट्रिय फौजदारी अदालतमा मुद्दा दायर गर्ने

0 15
Madheshi_Morcha_nepal_746731138राजविराज: आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेसमा जारी आन्दोलन थप सशक्त र प्रभावकारी बनाउने निर्णय गरेको छ।
मोर्चाको बुधबार राजविराजमा सम्पन्न दुई दिने बैठकको निर्णय सार्वजनिक गर्दै आयोजित पत्रकार सम्मेलनमा मोर्चाका नेताहरूले असहयोग आन्दोलनलाई निरन्तरता दिँदै थप सशक्त र प्रभावकारी बनाउन गाउँ, नगर र जिल्लास्थित सरकारी कार्यालयहरू, वित्तीय संस्थाहरू, भन्सार नाका बन्द गर्ने र राजमार्ग केन्द्रित आन्दोलन गर्ने बताए।
तमलोपाका अध्यक्ष महन्थ ठाकुरले सरकारले दुनियाँलाई देखाउन वार्ताको नाटक गरे पनि वार्ताको वातावरण तयार नपारेको आरोप लगाए। ठाकुरले मोर्चाले सुदेखि नै राज्यसभामा प्रान्तीय जनसंख्याका आधारमा प्रतिनिधित्व हुनुपर्ने, जनसंख्याका आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व स्वीकार गर्नुपर्ने, राष्ट्रका विशिष्ट पदमा अंगीकृत नागरिकता पाउनेले पनि वंशजले झैं समान अधिकार पाउनुपर्ने, २० वर्षको ठाउँमा हरेक १० वर्षमा निर्वाचन क्षेत्र पुनरावलोकन गरिनुपर्ने, मधेसमा दुई प्रदेश बनाउनुपर्ने माग गर्दै आएको बताए।
भारतले नेपाललाई दिएको सातबुँदे सुझावबारे थाहा नभएको उल्लेख गरेका ठाकुरका माग भने भारतको कथित सुझावसँग मिल्दोजुल्दो छ।
सिंगो मधेस एक स्वायत्त प्रदेशको मागमा अडिग रहँदै आएका फोरमका अध्यक्ष उपेन्द्र यादवले पत्रकार सम्मेलनमा भने मधेसमा झापादेखि नारायणीसम्म र नारायणीदेखि कञ्चनपुरसम्म दुई प्रदेश हुनुपर्ने बताए। मोर्चामा रहेको सद्भावना पार्टीले संविधानसभाबाट राजीनामा दिए पनि अन्य पार्टीले संविधानसभा नछाडेर पदको मोह देखाएको भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष यादवले संविधानसभाबाट राजीनामा दिने निर्णय मधेसी मोर्चाको नभई सदभावना पार्टीको भएको बताए।
भारतीय पक्षले ‘नाकाबन्दी’ गर्ने आशंका गरिएका बेला मोर्चाले सिमानामा नाकाबन्दी गरेर सम्पूर्ण आर्थिक कारोबार ठप्प पार्न जिम्मेवारी बाँडफाँट गरिएको जानकारी दियो । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अब उधारो सम्झौता नगर्ने र यो पटकको लडाइँ अन्तिम हुने बताए।
चार दिनअघि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक सद्भावना पार्टीले नेकपा माओवादीका अध्यक्ष मातृका यादव र तराईमधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्तासँग मधेस थरुहटमा आन्दोलनरत विभिन्न मोर्चा र संगठनहरूबीच बृहत् मोर्चा निर्माण गर्ने निर्णय गरेको थियो।
आन्दोलन निर्णायक बनाउन बृहत् मोर्चा बनाउनुपर्ने प्रस्ताव वैठकमा सफल हुन नसकेपछि समान मुद्दा भएका थरुहट÷थारुवान संघर्ष समिति एवं मुस्लिम संघर्ष समितिलगायत दल, संगठन र संघसंस्थासँग सहकार्य मात्र गरिने निर्णय भएको छ।
मोर्चाका चार घटकका सचिवालय सदस्यहरू राजेन्द्र श्रेष्ठ, गोविन्द चौधरी, मनीष सुमन र रामनरेश राय यादव रहेको समितिलाई सहकार्यको जिम्मेवारी दिइएको छ।
बैठकले मेची-महाकाली (हुलाकी राजमार्ग) मा मानव शृंखला निर्माण गरी हातेमालो कार्यक्रम गर्ने, निहत्था जनताको हत्या गरी मानवअधिकारको हनन गर्ने सरकारविरुद्ध सर्वोच्च अदालत र अन्तर्राष्ट्रिय फौजदारी अदालतमा मानवताविरोधी अपराध तथा अन्तर्राष्ट्रिय मानवीय कानुन उल्लघंनमा मुद्दा दायर गर्ने निर्णय गरेको छ।
बैठकले मंगलबार सुनसरीको इनरुवामा मित्रराष्ट्र चीनको राष्ट्रिय झन्डा जलाउने कार्यको घोर भत्र्सना गरेको छ भने मुस्लिम समुदायको इदको शुभकामनासमेत व्यक्त गरेको छ।
पत्रकार सम्मेलनमा फोरम अध्यक्ष यादव, उपाध्यक्ष रेणु यादव, तमलोपाका अध्यक्ष ठाकुर, उपाध्यक्ष हृदयेश त्रिपाठी, सद्भावना पार्टीका अध्यक्ष महतो, उपाध्यक्ष नबलकिशोर साह, तराईमधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव र महासचिव रामकुमार मण्डल उपस्थित थिए।

– अन्नपूूर्ण पोस्टबाट