पर्यटन क्षेत्रमा भूकम्पको पीडा संविधानले बिर्साउने विश्वास

0 10

चितवन, ६ असोज । भूकम्पबाट सुस्ताएको पर्यटन क्षेत्र संविधान जारी भएसँगै पूर्ववत् अवस्थामा फर्कनेमा व्यवसायी विश्वस्त बनेका छन् ।

बन्द हडतालका कारण उत्साहित भई नसके पनि तराईको समस्या हल हुने र अन्तर्राष्ट्रिय जगत्मा नेपालको सकारात्मक सन्देश प्रवाह भई पर्यटक बढ्ने उनीहरुको विश्वास छ ।

सेप्टेम्बर दोस्रो सातासँगै गत वर्षमा जिल्लाको सौराहामा व्यापक चहलपहल सुरु हुने गर्दथ्यो । तर यस वर्ष सौराहा, पटिहानी, जगतपुर र मेघौली सुनसान छ । क्षेत्रीय होटल सङ्घ सौराहाका वरिष्ठ उपाध्यक्ष सुमन घिमिरे संविधान जारी भएसँगै अन्तर्राष्ट्रिय जगत्मा सकारात्मक सन्देश प्रवाह हुन थालेको बताउँदै अब पर्यटक बढ्नेमा आफूहरु विश्वस्त रहेको बताउनुभयो ।

नेपालमा जारी भएको संविधानले विश्वभर राम्रो सन्देश प्रवाह गरेको भन्दै उहाँले तराईको समस्या समाधान भएसँगै भूकम्पको प्रभाव बिर्सने गरी पर्यटक आउने बताउनुभयो । गत वर्ष यति बेला ५० प्रतिशतको हाराहारीमा कोठा बुकिङ भएका थिए ।

“यस वर्ष १० प्रतिशतभन्दा बढी बुकिङ हुन सकेका छैनन्” उहाँले भन्नुभयो । सौराहामा मात्र ११० को हाराहारीमा होटल छन् । जिल्ला भरमा पर्यटकीय होटलको सङ्ख्या १५० रहेको छ । व्यवसायीको भनाइमा पर्यटन क्षेत्रमा चितवनमा मात्र रु पाँच अर्बभन्दा बढी लगानी छ ।

यो मौसमका लागि भएका सबै बुकिङ भूकम्प पछि रद्द भएका हुन । हिमाल चढ्न आउने पर्यटकका कारण नेपालमा सेप्टेम्बर दोस्रो सातादेखि डिसेम्बर पहिलो सातासम्म पर्यटक बढ्ने गरेको क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्व अध्यक्ष गिरीधारी चौधरीले बताउनुभयो ।

जिल्लाको मेघौलीमा गत वर्षबाट सञ्चालनमा आएको होटल बाराहीका कार्यकारी निर्देशक विप्लव पौडेल नेपालमा जारी भएको संविधानसँगै भूकम्पको प्रभाव बिर्सने गरी पर्यटक आउनेमा विश्वस्त हुनुहुन्छ । गत वर्षको भन्दा आधाभन्दा कम यो मौसममा पर्यटक आएको भन्दै उहाँले तराईको समस्या समाधान हुने र पर्यटक उल्लेख्य मात्रामा भित्रनेमा आफूहरु ढुक्क रहेको बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज र सामुदायिक वनमा दुलर्भ वन्यजन्तु एक सिङ्गे गैँडा, बाघलगायतका जनावार हेर्न, यहाँको थारु संस्कृतिमा रमाउन, नदीमा ¥याफ्टिङ गर्न पर्यटक आउने गर्छन् । चितवन पर्यटन विकास समितिका अध्यक्ष दिलीप मैनाली तराई आन्दोलन रोकिए नेपालमा पर्यटकको आगमन बढ्ने बताउनुहुन्छ ।

जिल्लामा दुर्लभ वन्यजन्तु, स्वास्थ्य, धार्मिक क्षेत्र, कृषि, पोल्ट्री, प्राकृतिक सम्पदा र अन्य क्षेत्रमा जाने क्रममा आउने पर्यटकले भरिने बताउँदै अध्यक्ष मैनालीले नेपालमा संविधान जारी भएसँगै आफूहरुमा नयाँ उमङ्ग र जागर थपिएको बताउनुभयो ।

झन्डै ३५ वर्षे पर्यटन क्षेत्रको आफ्नो अनुभव सुनाउँदै उहाँले विदेशमा रहेका पर्यटन व्यवसायीले नेपालमा स्थायी शान्ति कायम हुनसके पर्यटक आउने आश्वासन दिएको पनि बताउनुभयो ।