प्रजातान्त्रिक अभ्यासलाई स्वीकार्नुपर्छ – अध्यक्ष थापा

0 7

काठमाडौँ, ५ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)का अध्यक्ष कमल थापाले नयाँ संविधानलाई प्रजातान्त्रिक मूल्य तथा मान्यताका आधारमा आफ्नो पार्टीले स्वीकारेको बताउनुभएको छ ।

पार्टीको मध्यामञ्चल क्षेत्रीय भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले संविधानका अन्तरवस्तुमा भने पार्टीको गम्भीर असहमति रहेको भएपनि विधि र प्रक्रियाबाट आएको संविधानलाई प्रजातान्त्रिक अभ्यासमा स्वीकार्नुपर्ने बताउनुभयो ।

अध्यक्ष थापाले पार्टीको कार्यसूचीको औचित्य भने समाप्त नभएको बताउँदै एउटा खेल हार्दैमा मैदान छाड्न नहुने र अर्को खेलमा विजय प्राप्त गर्नका लागि कार्यकर्तालाई निरुत्साहित नहुन आग्रह गर्नुभयो ।

उहाँले मधेसमा देखिएको विभिन्न समस्या तथा आन्दोलनलाई चाँडो वार्ताबाट समाधान गर्न सरकारलाई आग्रह गर्दै आन्दोलनकारी शक्तिले पनि सम्भव भएका जायज माग पूरा गराउन तत्परता देखाएर सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

पार्टीका सहअध्यक्ष केशरबहादुर विष्ट, उपाध्यक्ष टङ्क ढकाल, सभासद् विक्रम गिरीलगायतले शक्ति सन्तुलनको दस्तावेजका रुपमा रहेको नयाँ संविधानलाई संशोधनका माध्यमबाट पार्टीका कार्यसूची पारित गराउन पार्टीले देशव्यापीरुपमा सशक्त कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।