राष्ट्रपति यादव र प्रधानमन्त्री कोइरालाबीच भेटवार्ता

0 4

काठमाडौँ, ५ असोज । राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाबीच आज समसामयिक राजनीतिक विषयमा वार्ता भएको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटवार्तामा तराई–मधेसमा भइरहेको आन्दोलनलाई तत्काल सम्बोधन गर्ने सम्बन्धमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले राससलाई जानकारी दिनुभयो ।

प्रधानमन्त्री कोइराला संयुक्त राष्ट्र सङ्घको ७० औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिका जानु एक दिनअघि भएको उक्त भेटमा राष्ट्रपति यादवले तराई–मधेसमा आन्दोलनरत पक्षसँग तत्काल संवाद थाल्न आग्रह गर्नुभएको थियो ।

राष्ट्रपति यादवले तत्काल राजनीतिक र प्रशासनिक पक्षबाट पहल गरी आन्दोलनरत पक्षसँग वार्ता गर्न र समस्या समाधान गर्न आग्रह गर्नुभएको सल्लाहकार दाहालले बताउनुभयो ।

सो भेटमा प्रधानमन्त्री कोइरालाले आन्दोलनरत पक्षसँग संवादको थालनी भइसकेको र आज मात्रै तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेट भएको राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो । प्रधानमन्त्रीका अनुसार सरकारले मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारसँग पनि वार्ता गर्दैछ ।