छुटेका सभासद्ले ४ बजेसम्म हस्ताक्षर गर्न पाउने

0 11

३ असोज, काठमाडाैं । संविधान निर्माणको जारी प्रक्रियाप्रति असन्तुष्टि जनाएर बाहिरिएका विभिन्न दलका सभासद्ले संविधान जारी गर्नुअघिसम्म हस्ताक्षर गर्न पाउने भएका छन् ।

असन्तुष्ट भएर वा विशेष कारणले शुक्रबार भएको हस्ताक्षर समारोहमा सहभागी हुन नसकेका सभासद्का लागि संविधान जारी गर्नुभन्दा अघिसम्म हस्ताक्षर गर्ने मौका दिने सभाध्यक्ष नेम्वाङले जानकारी दिए । ‘अनुपस्थित दल र सभासद्हरूले भोलि (आइतबार) संविधान जारी गर्नुभन्दा अघि संविधानमा हस्ताक्षर गर्न पाउनुहुन्छ,’ नेम्वाङले भने, संविधानसभालाई यहाँसम्म ल्याइपुर्‍याउन उहाँहरूले खेलेको भूमिका र बगाएको पसिनाको परिणाम भएकाले अन्तिम अवस्थामा आएर भए पनि हस्ताक्षर गरेर स्वामित्व ग्रहण गर्न म आग्रह गर्छु ।’ नेम्वाङले संविधानसभाको प्रक्रियाभन्दा बाहिर रहेका दल र सभासद्हरूको पनि ठूलो योगदान रहेकाले ऐतिहासिक संविधानसभाले जारी गर्ने संविधानमा हस्ताक्षर गर्नबाट नछुट्न आग्रह गरेको नयाँ पत्रिकामा खबर छ ।

‘बनेको संविधानको जगमा उभिएर, आवश्यक छलफल गरेर भोलिका दिनमा संशोधनमार्फत संविधान सच्याउन सकिन्छ,’ नेम्वाङले भने, ‘नेपालको इतिहासमा पहिलोपटक हुन लागेको यो अवसरबाट वञ्चित नभई अन्तिम अवस्थामा आएर भए पनि संविधानको प्रतिमा हस्ताक्षर गर्न म आग्रह गर्दछु ।’ नेपालको इतिहासमै पहिलोपटक जनताले चुनेका सभासद्ले बनाएको संविधान जारी गर्ने कार्यक्रमको भव्य तयारी गरिएको छ । जननिर्वाचित संविधानसभाले चुनेका सभाध्यक्षले हस्ताक्षर गरेको र जननिर्वाचित संविधानसभाले चुनेका राष्ट्रपतिले संविधान जारी गर्ने समारोहलाई औपचारिक र राष्ट्रिय समारोह बनाउन संविधानसभाले विशेष तयारी गरेको हो ।

संविधानसभाको आफ्नो भवन नभएपछि सरकारले अघिल्लो संविधानसभादेखि नै बैठक बस्न काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र रोजेको थियो । विभिन्न सांस्कृतिक कार्यक्रम र प्रदर्शनी हुँदै आएको सम्मेलन केन्द्रमा संविधानसभा बैठक सुरु भएपछि त्यसलाई नै संविधानसभा भवन बनाइएको छ । त्यहाँ अन्य समारोह भएका छैनन् । संविधानसभाभन्दा बाहिर व्यवस्थापन गर्न र औपचारिक विशेष समारोह गर्न असम्भव देखेपछि संविधानसभा सचिवालयले संविधानसभा भवनबाटै संविधान जारी गर्ने विशेष कार्यक्रम गर्न लागेको हो ।