संविधानसभा भवन दुलही झै सिँगारियो

0 15

३ असोज, काठमाडौं । बेहुलीझैँ सिँगारियो संविधानसभा शनिबार साँझसम्ममा संविधानसभा बेहुलीझैँ सिँगारिएको छ । व्यवस्थापिका–संसद्को बैठक भएकाले संविधानसभा भवनको भित्री भाग भने आइतबार बिहान मात्रै सजाउने संसद् सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए । भवनको अग्रभागमा रहेका ८१ वटा अग्ला फलामका खम्बामा नेपालको झन्डा फहराइएको छ ।

फाइल तस्वीर
फाइल तस्वीर
भवन परिसरमा रंगीचंगी कपडाका ध्वजा–पतंगा सजाइएका छन् । अतिथि आउने–जाने बाटोमा गमलामा रंगीचंगी फूल राखिएका छन् । बाह्य सजावटको सम्पूर्ण काम नेपाली सेनाले गरेको हो । भवनभित्रको सजावट सचिवालयको संयोजनमा त्यहाँका कर्मचारीले गर्नेछन् । समारोहका क्रममा संविधानसभा भवनको ठीकअघि पानीको फोहोरा चलाइनेछ । संविधान जारी गर्न कारगेडमा आउने राष्ट्रपति रामवरण यादवलाई विशेष सम्मानका साथ संविधानसभा भवनभित्र लैजाने र ल्याउने रिहर्सल शनिबार बेलुका नै सम्पन्न भइसकेको नयाँ पत्रिकामा खबर छ ।

संविधानसभा भवनभित्र विभिन्न रङका फूलमाला र पुष्पगुच्छाले हल पूरै सिँगारिनेछ । रंगीचंगी हलको अग्रभागमा रहेको रोस्ट्रममा सभाध्यक्ष नेम्वाङ, उनको दाहिनेपट्टि उही आकार, रङ र आकृतिको अर्को कुर्सीमा राष्ट्रपति यादव बस्नेछन् । सँगै महासचिव मनोहरप्रसाद भट्टराई र केही कर्मचारी बस्ने व्यवस्था गरिएको छ ।

उपराष्ट्रपति परमानन्द झालाई भने विशेष कुर्सीका साथ हलको बाल्कोनीको अग्रभागमा बस्ने व्यवस्था छ । आमन्त्रित कूटनीतिक नियोगका अधिकारी, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, पत्रकारलाई बाल्कोनीको अग्रभागमा बस्ने व्यवस्था गरिएको छ भने अन्य अतिथि त्यसभन्दा पछाडि बस्नेछन् । नेपालमा रहेका विभिन्न देशका राजदूतसहित अन्तर्राष्ट्रिय निकायका प्रमुख र प्रतिनिधिलाई समारोहमा निमन्त्रण गरिएको छ ।