गोकर्ण–सुन्दरीजल खण्डमा बाढीको कम समस्या

0 11

काठमाडौँ, २६ भदौ । वाग्मतीको सुन्दरीजलदेखि गोकर्णसम्मको क्षेत्रमा व्यवस्थित तटबन्ध र दायाँबायाँ जाली बिच्छ्याइँदा वर्षामा आउने बाढीले कम प्रभावित हुने गरेको छ ।
अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले रु ६० करोडको लागतमा सुन्दरीजलदेखि गोकर्णसम्मको वाग्मती नदीलाई विसं २०२१ को नापीअनुसार व्यवस्थित गरेपछि कम प्रभावित भएको हो । विसं २०६६ फागुन ४ गतेदेखि २०७० असार मसान्तसम्ममा नौ किमीको क्षेत्रमा वाग्मतीलाई व्यवस्थित गर्ने काम भएको थियो ।
गोकर्णमुनि दर्जनौँ स्थानमा वाग्मतीको बहाव अव्यवस्थित हुँदा बाढी बस्तीमा छिरी डुबानमा परिरहेका बेला सो क्षेत्रको वाग्मती व्यवस्थित देखिएको सुन्दरीजल–गोकर्ण वाग्मती सरोकार समितिका संस्थापक अध्यक्ष केशवप्रसाद पुडासैनीले जानकारी दिनुभयो ।
“सुन्दरीजल–गोकर्ण नौ किमीको वाग्मती नदीमा व्यवस्थित ढङ्गले दायाँबायाँ बलियो तटबन्ध निर्माण गरिँदा बाढीबाट कम प्रभावित भएको छ, वाग्मती बग्ने भागमा पनि गहिरो चेक ड्याम र जाली बिच्छ्याइँदा वाग्मतीमा आउने बाढीले कम प्रभावित भएको हो”–उहाँले भन्नुभयो ।
वाग्मतीको बहाव न्यूनतम २० मि कायम गरी दायाँबायाँ ५÷५ मि जाली भरिएको छ । बढी बाढी आएका बेलामा नियन्त्रण गर्न सजिलो होस् भनी १५ ठाउँमा २८ मिको नदी बहाव क्षेत्र कायम गरिएको छ । विकास समितिका इन्जिनीयर उत्सवकान्त मैनालीले गोकर्णमाथिको वाग्मतीमा बाढी छिर्ने समस्या नभएको बताउनुभयो ।
“भद्रवास जाने पुल निर्माण गर्न केही जाली नभरी छाडिएको थियो, पुल निर्माणस्थलमुनि यस वर्ष बाढीले खोली तीन वटा जाली बगाएको छ, मेलम्चीपुलमुनिको ढकाल खहरेमा बालुवा निकालिएकाले वाग्मतीको बाढी खेतमा गएबाहेकको क्षति भएको छैन”–उहाँले भन्नुभयो ।
गोकर्णमुनिको अत्तरखेल–माकलबारी जोड्ने वाग्मती पुलमा शुक्रबार रातिको वर्षाले बाढी आई शनिबार बिहानसम्म सवारी साधन र मानिस हिँड्न समस्या भएको स्थानीयवासी अर्जुनप्रसाद दाहालले गुनासो गर्नुभयो ।