पोखरामा ‘कीर्तिपुर’ देखाइने

0 20

काठमाडौं, भदौ २१ । नेपाली ऐतिहासिक चलचित्र ‘कीर्तिपुर’ द लिजेन्ड अफ कीर्तिलक्ष्मीको विशेष प्रदर्शनी आउँदो असोज ८ र ९ गते पोखरामा हुने भएको छ ।

चलचित्रलाई पोखराको गुरु चेला, द करियर प्वाइन्टले संयोजन गरी प्रदर्शनी तयारी थालेको हो । पोखरास्थित उद्योग वाणिज्य संघको सभाहल, गैरापाटनमा कीर्तिपुर प्रदर्शनी गर्न टिकट बुकिङ समेत खुल्ला गरिएको करियर प्वाइन्टका सुवास मल्ले जानकारी दिए ।

उनले चलचित्र प्रदर्शनीबाट संकलित रकमको निश्चित परिमाण कास्की जिल्लाका भूकम्प पीडित बालबालिकाको शिक्षामा खर्च गरिने जानकारी दिए ।

अठारौं शताब्दीको पुर्वाद्धमा तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले कीर्तिपुर आक्रमण गरेको विषयबस्तुमा चलचित्र निर्माण गरिएको छ । स्वर्गिय बासु पासाद्वारा रचित भैरवसिंह नामक उपन्यासमा आधारित गरी कीर्तिपुर द लिजेन्ड अफ कीर्तिलक्ष्मी निर्माण गरिएको छ ।

फोकस पिक्चर्सको व्यानरमा निर्माण गरिएको चलचित्रलाई प्रदीप खड्गीले निर्देशन गरेका हुन । त्यस्तै कला निर्देशन केके मानन्धरले गरेका छन । चलचित्रमा भी.एफ.एक्स सुपरभाइजर सन्तोष के.सी तथा उनको टोलीले भिडियो एनिमेशनका लागि काम गरेका छन ।

चलचित्रमा हिसिला महर्जन, मणि लवट, यशराज गराच, लक्ष्मी गिरी, मदनदास श्रेष्ठ, सुरवीर पंडित, सुशील राजोपाध्याय, अन्जला नकर्मी, विनोद श्रेष्ठ, उदय श्रेष्ठ लगायतका कलाकारहरुको मूख्य भूमिका रहेको छ ।

हरिशरण सायमीको संगीत रहेको चलचित्र ‘कीर्तिपुर’ द लिजेन्ड अफ कीर्तिलक्ष्मीका कार्यकारी निर्माता विरेन्द्र ताम्रकार हुन् भने निर्माता क्रमशः प्रेम खड्गी तथा अनन्तकुमार श्रेष्ठ हुन् ।

चलचित्रमा उदय श्रेष्ठले द्वन्द्व निर्देशन गरेका छन भने अमृत मरहट्ठा तथा दीपसन परियारले श्रृङ्गार पक्ष सम्हालेका छन । करिव आधा करोडको लगानीमा निर्माण गरिएको चलचित्रमा शंकर महर्जन तथा नवीन जोशीले क्यामरा चलाएका छन ।