४८ मा अक्षय : सफल ७ भूमिका

0 16

भाद्र २३, २०७२- ‘खिलाडी कुमार’को उपनामले चिनिने बलिउड अभिनेता अक्षयकुमार ४८ वर्षका भएका छन् । राजिव हरिओम भाटियाका रुपमा जन्मिएका अक्षय सन् १९९१ को फिल्म ‘सौगन्ध’बाट बलिउड प्रवेश गरेका हुन् । हिरो बन्नुअघि मार्सल आर्टका खेलाडी रहेका अक्षयले अजय देवगन र सुनिल शेट्टीसँग मिलेर एक समय बलिउडमा एक्सन फिल्मलाई लोकप्रिय बनाएका थिए ।

२५ वर्षमा अक्षयले थुप्रै फिल्ममा अभिनय गरे । उनका भूमिकाहरुलाई भारतीय मिडियाले ७ किसिममा विभाजन गरेका छन् ।

१. नयाँ समयको देशभक्त
यो वर्गमा उनका पछिल्ला फिल्महरु होलिडे, बेबी र गब्बरलाई राखिएको छ । यी फिल्महरुमा अक्षयले देशभक्तको भूमिका निर्वाह गरेका छन् । यी फिल्ममा कुनैमा उनी आतंकवाद विरुद्ध लडेका देखिन्छन् त कुनैमा भ्रष्टाचारविरुद्ध ।

२. चलाख ठग
अक्षयले चोरको भूमिकामा थुप्रै फिल्ममा अभिनय गरेका छन् । यो वर्गमा उनका अजनवी, टसन र स्पेसल २६ लाई राखिएको छ । अजनवीमा अक्षयले बबी देओललाई छक्याउँछन् भने टसनमा सैफअलि खान र अनिल कपुरलाई । चोरीको एउटा श्रृखंलालाई नै लिएर बनाइएको स्पेसल २६ मा भने अक्षयले मनोज बाजपेयीलाई छक्याउँछन् ।

३. खेलाडी कुमार
उनले अभिनय गरेका ८ वटा फिल्मको नाममा नै ‘खेलाडी’ जोडिएका छन् । खिलाडीबाट सुरु भएको यो श्रृंखला मै खिलाडी तु अनाडी, सब से बडा खिलाडी, खिलाडीयों का खिलाडी, मिस्टर एन्ड मिस्टर खिलाडी, इन्टरनेसनल खिलाडी, खिलाडी ४२० र खिलाडी ७८६ मा जारी रहे ।

४. प्रहरी अधिकृत
चोर र ठगजस्तै अक्षयले प्रहरी अधिकारीको भूमिकामा पनि केही फिल्ममा अभिनय गरेका छन् । मोहराजस्तो चर्चित फिल्ममा पनि प्रहरी अधिकारी थिए भने पछिल्लो समय खाकीमा पनि अमिताभ बच्चनसँग उनी प्रहरीको भूमिकामा थिए । बीचमा मधुर भण्डारकरको आनमा पनि उनले शत्रुघ्न सिन्हासँग प्रहरीका रुपमा देखिए ।

५. रोमान्टिक फिल्म
धडकन, जानेमन, हमको दिवाना कर गए, मुझसे सादी करोगी तथा नमस्ते लन्डनजस्ता फिल्ममा उनले रोमान्टिक भूमिकामा देखिए । यस्ता भूमिकामा पनि अक्षय सफल रहे ।

६. एक्सन र मसला फिल्म
सबैखाले स्वाद मिसाइएका मसला फिल्ममा पनि अक्षय निकै जमे । राउडी राठोर, सिंग इज किंग, भूल भुलैया, बोस, इन्टरटेनमेन्टजस्ता फिल्म यो समूहमा पर्छन् ।

७. कमेडी
पछिल्ला वर्षहरुमा अक्षयले सबैभन्दा बढी सफलता पाएको चाहिँ कमेडी फिल्मबाट हो । हेराफेरि, वेलकम, गरम मसला, भागमभाग, हाउसफुलजस्ता फिल्म यो समूहमा पर्छन् ।