दुई सर्टको १० लाख, लन्चको ४०?

0 16

भाद्र २४, २०७२- सातायता परिणीति चोपडाका खबर मिडियामा बुस्ट भइरहेका छन्। मोटी नायिका गुपचुपमा तौल घटाई एकाएक स्लिम अवतारमा देखिएपछि ठूलो मात्रामा सुखद कम्प्लिमेन्ट्स पनि पाइन् रे उनले। मोटो रकम खर्चेर वजन घटाएको रिपोर्ट पनि आए। खर्चकै कुरा गर्दा, यति बेला परिणीतिको ट्वीटले अर्को मिडिया कभरेज पाएको छ। हाल इन्डोनेसियामा छुट्टी मनाइरहेकी परिणीतिले त्यहाँ दस लाख रुपैयाँ खर्चेर दुइटा सर्ट किनेको ट्वीट गरिन्। नायिकाको आशय आफ्ना फलोअर्सलाई झट्का दिनु थियो। उनले ह्यासट्यागमा क्रेजी करेन्सी जाकार्ता उल्लेख गरे पनि धेरै ट्वीटेले त्यो आशय बुझेनन् र बलिउड स्टारहरू बढी भौतिकवादी बनिरहेको जस्ता आशयका नकारात्मक प्रतिक्रिया पनि आए। तर पनि उनले ट्वीट गर्न छोडिनन्। अर्को ट्वीटमा त झन् ४० लाख रुपैयाँको लन्च नै गरेको ठोकिन्। खासमा परिणीति गलत थिइनन्। खासमा रुपैयाँ नै भनिने इन्डोनेसियाको मुद्रा नै सस्तो भएका कारण त्यस्तो भएको हो। मुद्रा सटहीमा १० लाख रुपैयाँ भारुमा मात्र चार हजार छ सय मात्रै हुने गर्छ।
पछिल्ला चहलपहल देख्दा केही समयदेखि फिल्म साइन नगरी फिटनेसमा ध्यान दिएकी परिणीति अब धमाका गर्ने मनस्थितिमा छिन्। स्लिम बन्नुमा बाध्यता पनि र रहर पनि दुवै रहेको बताएकी छन्। ‘बाध्यता वा प्रेसर यस अर्थमा कि हामी कलाकार भिजुअल माध्यममा देखिने भएकाले आफूलाई पर्दामा चुस्तदुरुस्त देखाउनु कर्तव्य पनि हो। राम्री देखिनु नै पर्छ। तर यसो भन्दैमा कसैका कारण स्लिम बन्नै पर्ने बाध्यता आइपरेको पनि हैन,’ उनले थपिन्, ‘यस्तो सोच्नु स्वाभाविक पनि हो। म पनि कसैको फिल्म हेर्न जाँदा एक्टर देख्दा राम्रो चिटिक्क जिउडालको होस् भन्ने नै सोच्छु भने अरूले त्यस्तो ठान्नु अप्राकृतिक पक्कै हैन।’ उनले पातली भएपछि अहिले आफूले जस्तो चाह्यो त्यस्तै कपडा लगाउन पाएकोमा दंग परेको पनि सुनाइन्।