राष्ट्रवादीमाथि एम्बुस थापिँदै

0 22

यसै मुद्दामा देश लामो समय भड्काउमा परिरहने देखिन्छ । २०५१ सालमा रोपिएको यो बिरुवा २०७२ सालसम्म आइपुग्दा यसबाट फलेको फल तराई भूभागमा बस्ने, तर दक्षिणतिर साइनो भएका केही मधेसी नेताहरूका लागि साह्रै प्रिय बनेको छ । यो वृक्षको बीउ अरु भागमा पनि फैलिँदैछ र मागिँदै छ, मगर राज्य, गुरुङ राज्य, तामाङ राज्य, लिम्बुवान, खम्बुवान राज्यका नाममा ।

यसबाट के अनुमान गर्न सकिन्छ भने आजको ठीक १० वर्षपछि दुईवटा कुराको आवाज यो देशमा सुनिनेछ । पहिलो हो– ‘यो देशको शासन २०÷२५ वर्षअघि मात्रै तराईमा आएका राजेन्द्र महतो जस्ता व्यक्तिको हातमा जानेछ ।’ दोस्रो हो, ‘तराईको समथर भू–भाग भारतमा गाभिनुपर्दछ भन्ने माग राख्दै सशस्त्र विद्रोह हुनेछ ।’

यसको सुरुवात भइसकेको छ भन्दा पनि हुन्छ । राजेन्द्र महतोले ‘मधेस आन्दोलनमा सहिद हुने व्यक्तिलाई एक मधेस प्रदेश भएमा ५० लाख दिइनेछ’ भन्ने अभिव्यक्ति दिँदै हिँडेका छन् । सभासद् अमरेशकुमार सिंह, उपेन्द्र यादव र तिनै राजेन्द्र महतो एकै शैलीमा कैलालीको टीकापुर गएर ‘पहाडीविरुद्ध हतियार उठाएर उनीहरूलाई भगाउनुपर्दछ’ भन्दैछन् । त्यस्तै, राजकुमार लेखीले ‘प्रमुख दलका शीर्ष नेताहरूलाई तराईमा आए भौतिक कारबाही हुनेछ’ भनी चेतवनी दिएका छन् । यी गतिविधिले हिंसालाई प्रोत्साहन गर्न खोजेको छ । जसका कारण गत साउन २५ गतेदेखि आजसम्म २९ जनाको मृत्यु भएको छ भने चार सयभन्दा बढी घाइते भएका छन् ।

यी सम्पूर्ण राष्ट्रघाती षड्यन्त्र तथा कदमविरुद्ध सुरुदेखि नै उभिनुभयो विकासवादी र राष्ट्रवादी नेता शेरबहादुर देउवा । उहाँलाई यतिबेला एमाले अध्यक्ष केपी शर्मा ओली, नेता भीमबहादुर रावल, एमाओवादी नेता लेखराज भट्टलगायतले सहयोग र साथ दिएको देखिन्छ । त्यही राष्ट्रवादी व्यक्तिमाथि आज आफ्नै पार्टीभित्र र पार्टी बाहिर सबैतिरबाट आक्रमण सुरु भएको छ । उहाँलाई कमजोर बनाउन थारु समुदाय विरोधीको रूपमा चित्रण गर्ने दुस्प्रयास भइरहेको छ । यतिसम्म कि एमाओवादी नेता बाबुराम भट्टराईले फेसबुकमार्फत ‘जातीय राज्य दिनमा पश्चिमका शेर र पूर्वका शेर बाधक भएका छन्’ भन्ने बेहोरासमेत उल्लेख गरे । बाबुरामका यी अभिव्यक्तिले समस्यालाई झन् बल्झाउन खोजेको प्रमाणित हुन्छ । राष्ट्रवादी नेतालाई कमजोर बनाउने प्रयास फेरि हुँदैछ । अब यो मुलुकमा राष्ट्रियस्तरको नेतामा कुनै पनि राष्ट्रवादी नेता बाँकी छन् भने देउवा मात्र हुनुहुन्छ भन्दा पनि हुन्छ । त्यसैले उहाँप्रति बाबुराममार्फत शब्द प्रहार गरिएको हो ।

२०५२ सालमा कर्णालीलगायत त्यसभन्दा पश्चिमका २२ वटा पुल निर्माणदेखि जलविद्युत क्रान्तिको अवधारण ल्याउने योजना देउवाले नै सुरु गर्नुभएको हो । कर्णालीमा जलविद्युत उत्पादनका लागि एनरोन कम्पनीलाई काम गर्न अनुमति दिन खोज्दा उहाँले प्रधानमन्त्रीबाट हट्नुपरेको थियो । २०५८ साउन ३२ गते संसद्को २०औं अधिवेशनमा द्वन्द्वतिर गइरहेको मुलुकलाई सामाजिक र आर्थिक परिवर्तनका लागि सुधारको अभियानलाई तीव्रताका साथ अघि बढाउने निर्णय देउवाले गर्नुभएको थियो । जसलाई युगान्तकारी एवं ऐतिहासिक घोषणका रूपमा लिइन्छ ।

यस्ता जनप्रिय कार्यक्रम ल्याएकै कारण उहाँलाई प्रधननमन्त्रीबाट अपदस्थ गरियो । यस्तो राष्ट्रवादी व्यक्ति कसरी एक समुदाय र एक क्षेत्रको विरोधी हुनसक्छ ? ‘जिल्ला टुक्र्याउनु हँुदैन । पहाडी र मधेसी एकै ठाउँमा बस्ने वातावरण बनाउनुपर्दछ । त्यसका लागि पहाडबाट तराई छुट्याउनु हँुदैन’ भन्ने विचारलाई के मधेसी विरोधी, थारु विरोधी भन्न मिल्छ ?

यो मुलुक दुई करोड ६४ लाख नेपाली जनताको हो । तराई, पहाड, हिमाल जहाँ बस्ने भए पनि । धोती लगाउने होस्, टोपी लगाउने होस् सबैको साझा हो । धोती लगाउने व्यक्तिमा सगरमाथा मेरो हो भन्ने भावना छ भने टोपी लगाउने व्यक्तिमा तराईमा भएको जानकी मन्दिर मेरौ हो भन्ने भावना छ । जुन यो पवित्र राष्ट्रिय भावना छ, यो टुट्नु हँुदैन भन्ने शेरबहादुर देउवालाई कसरी एक समुदाय विरोधी भन्न मिल्छ ? नेपालको आफ्नैपनको संरचनामा दक्षिणको मलिलो माटोमा, खाद्यान्न फलाउन सकिन्छ, पहाडमा फलफूल, जलविद्युत उत्पादन गर्न सकिन्छ । त्यस्तै हिमाली भागमा जडीबुटी र पर्यटनको विकास गर्न सकिन्छ । त्यसको आम्दानी समानुपातिक रूपमा हिमाल, पहाड, तराईमा वितरण गर्नुपर्छ, उनीहरूले देशको यो सम्पदाप्रति गौरव गर्न पाउनुपर्छ भन्ने नेता देउवा कसरी थारु विरोधी र मधेसी विरोधी हुन्छ ?

नेपालको राजनीतिमा २००७ सालदेखि पटक–पटक राष्ट्रवादी नेता नउदाएका होइनन्, तर उनीहरूविरुद्ध राष्ट्रभित्रकै र बाहिरी राष्ट्र, शक्ति लाग्ने गरेको देखिएको छ । राष्ट्रवादी नेतालाई कमजोर गर्ने घृणीत खेल खेलिँदै आएको छ । २०१७ सालमा प्रधानमन्त्रीबाट अपदस्थ गरी दक्षिण एसियाकै उदीयमान नेता बीपी कोइरालालाई नेपालको राजनीतिमा कहिल्यै अगाडि बढ्न दिइएन । २०४६ मा प्रजातन्त्र प्राप्तपछि राष्ट्र«वादी नेता गणेशमान सिंह, कृण्णप्रसाद भट्टराईलाई धेरै दिन शक्तिमा टिक्न दिइएन । त्यसबेलाकै चर्चित एमाले नेता मदन भण्डारीको रहस्यमय जिप दुर्घटनाबाट हत्या भयो भने राष्ट्रवादी राजा वीरेन्द्रको पनि वंशनाश हुनेगरी हत्या गरियो । यी सम्पूर्ण घटनाहरू राष्ट्रवादसँगै जोडिएका शृंंखला हुन् । मुलुक भीरको टुप्पोमा अड्किएको गोरुझैं संकटको डिलमा अड्किएको छ । यसबाट माथि तान्ने राष्ट्रवादी नेताको खाँचो छ ।

नेपाली कांग्रेसका दोस्रो पुस्ताको नेतामध्ये राष्ट्रवादी नेताको रूपमा देखिनु भएका देउवा यो अभावको पूर्ति गर्नसक्ने एक मात्र नेता हुनुहुन्छ । उहाँले प्रस्तुत गर्नुभएको संघीयताको खाकाले मात्रै देशको सर्वभौमसत्ता र राष्ट्रीय अखण्डता जोगिन सक्छ । हैन भने मुलुक लामो समय जातीय र क्षेत्रीय द्वन्द्वमा अल्झिरहनेछ । त्यसबाट उम्किन मुलुकले लामो समय पर्खिनुपर्नेछ । त्यसैले अहिले यो देशमाथि गिद्दे दृष्टि लगाएर बसेका शक्तिहरू चाहे देशभित्रकै बाबुराम भट्टराई जस्ता व्यक्ति हुन्, आफ्नै पार्टीभित्रकै केही व्यक्ति हुन् वा बाह्य शक्ति हुन्, यी सबैको एउटै एजेन्डा छ । त्यो एजेन्डा हो– ‘देउवालाई कमजोर पार्नु ।’ देउवालाई कमजोर गर्नसके मात्रै आफ्नो अभीष्ट पूरा हुने सोचमा राष्ट्रविरोधी तŒवहरू छन् । त्यसकारण मधेसी, थारु, जातीय विरोधी शब्दका एम्बुसहरू उहाँप्रति लक्षित गरिएका हुन् ।

You might also like More from author