प्रवासमा दुखेको नेपाल, भोगेको पीडा

0 11

हाम्रो भौतिक शरीर विदेशमा रहे पनि मन र मस्तिष्क सदैव देशप्रति समर्पित छ । जब जब देशमा विपत्ति पर्छ, देशलाइ आवश्यक परेको बखत छाक काटेर होस् वा आफ्नो श्रम पसिना दान गर्न कहिल्यै पछि पर्दैनन्  विदेशमा रहेका नेपालीहरू । देशप्रेम र देशभक्ति कुरा गराईमा मात्र लागू हुँदैन । जब देशबाट टाढा गइन्छ, तब मात्र आफ्नो देश र आफन्तको माया साँच्चिकै बुझ्ने गरिन्छ । जति पनि नेपालीहरू विदेशिएका छन्, विदेशिनु तिनीहरू सबैको बाध्यता भए पनि देशलाई परेको संकटको बेला जोकोही पनि आँखा चिम्म गरेर बसेका छैनन् । भूकम्प होस् या बाढीको समस्या होस्, हिउँ पहिरोको समस्या होस् कि दार्चुलाको पीडित हुन् वा जाजरकोटमा झाडापखालाको महामारी होस्, विपतको समयमा अनि नेपालको संकटको समयमा प्रवासीहरूले उत्तिकै साथ दिँदै आएको ज्वलन्त उदाहरण हामीसामु छर्लंग छ ।

अहिले  फेसबुकका भित्ताहरू, ट्विटर, गुगल प्लस, खबर अनलाइनका समाचारहरू, टेलिभिजन, रेडियो एफएम अनि घरपरिवारसँगको कुराकानी सबैमा नेपालमा द्वन्द्व, हिंसा, आगजनी र अशान्त छ भन्ने मात्र पढिन्छ, सुनिन्छ । यसबेला हामी प्रवासमा बसेकाहरू नेपालीहरू मुलुक जलेको टुलुटुलु हेर्न बाध्य भइरहेका छौं । जातीय, क्षेत्रीय, धर्म, अखण्डता र संघीयताका नाममा जलिरहेको मुलुकको पीडा खप्न नसकेर हामी प्रवासीहरूका आँशु रोदन छरिरहेका छन् । सामाजिक सञ्जालहरूमा हाम्रा प्रवासी साथीहरूले आफू आदिवासी जनजाति भए पनि ‘म राई हुँ, मलाई किराँत प्रदेश चाहिँदैन । म नेपाली हुँ, ममा सबैसँग मिलेर बस्ने क्षमता छ’, ‘म नेवार हुँ, तर मलाई नेवाः प्रदेश चाहिँदैन, मलाई नेपाल चाहिन्छ’, ‘म लिम्बू हुँ, तर म पहिला नेपाली हुँ, त्यसैले नेपाल चाहिन्छ, मलाई लिम्बूवान चाहिँदैन’, ‘म तामाङ हुँ, मलाई ताम्सालिङ चाहिँदैन, म सबैसँग मिलेर बस्न सक्छु, सिंगो नेपाल चाहिन्छ’ भनेर आफ्नो राष्ट्रप्रेमको भावना भावविह्वल भएर व्यक्त गरिरहेका छन् ।

त्यसैगरी, तराईका हाम्रा मित्रहरूले ‘म मधेसी हुँ मलाई सिंगो नेपाल चाहिन्छ, मधेस प्रदेश चाहिन्न । हामी पहाडे–मधिसे सबै मिलेर बसेका छौं, अझै बस्न चाहन्छौं’ लेखेर मुलुकमा भइरहेको हिंसा आतंकप्रति अत्यन्तै गम्भीरताका साथ चिन्ता व्यक्त गरिरहेका छन् । त्यस्तै, जन्मजात हिन्दु धर्मावलम्बी ब्राह्मण साथीहरू पनि ‘म हिन्दु धर्मावलम्बी हुँ, तर मलाई हिन्दु राष्ट्र हैन, सबैलाई मान्य हुने धार्मिक स्वतन्त्रता चाहिन्छ । म सबै धर्मलाई सम्मान गर्छु’ भनेर धार्मिक सहिष्णुताका सन्देश दिइरहेका छन् । यो सन्देश नेताहरूले नसुनेकोमा प्रवासमा रहेका हामी सबै नेपालीमा नेपाल दुःखेको छ । हामी प्रवासमा कुनै जात, क्षेत्र, धर्म, रंग र लिंगमा विभाजित भएका छैनौं, हामी मात्रै नेपाली हौं । यहाँ हाम्रो पहिचान भनेकै नेपाली मात्रै हो, हामीलाई अरुले राई, लिम्बू, नेवार, बाहुन, क्षेत्री आदि भनेर कहिल्यै चिनेको छैन र चिन्दैनन् पनि । यहाँ हाम्रो पहिचान मात्र नेपाली हो । हामी प्रवासमा नेपाली भएर नेपालको पीडामा विक्षिप्त भएका छौं । हरेक क्षण नेपालबाट आएका समाचार र कुराकानीले हामीलाई भतभती पोलेको छ । नेपालमा भएको हिंसा हत्यामा जसको घर जले पनि नेपालीको जलेको छ, प्रहरी, मधेसी, पहाडी जो मरे पनि, राई, लिम्बू, क्षेत्री, बाहुन जो मरे पनि नेपाली मरिरहेका छन् । नेपालीहरू मरिरहँदा हामी प्रवासमा बसेकाहरू कोही पनि राई, लिम्बू, क्षेत्री, बाहुन, मधेसी, पहाडी आदि विभाजित छैनांै, खुसी छैनौं । देशप्रति सम्पूर्ण नेपालीहरूको आस्था र स्वाभिमान गाँसिएको छ । हाम्रो देश भन्नु नै हाम्रो आस्थाको धरोहर हो । जति हामीलाई हाम्रो मुटु दुख्दा पीडाको महसुस हुन्छ, त्यत्तिकै रूपमा देश दुख्दा पनि पीडा भइरहेछ ।

आफ्नो देश दुख्दा हाम्रो मन दुख्नु र रुनु स्वाभाविक हो ।   हामी नेपाली एकअर्काको दुःखमा भावुक हुन्छौ, पीडा बुझेर एक अर्काको समस्या समाधान गर्न तम्सिन्छौं । अहिले  हाम्रो देश प्रसव वेदनामा छट्पटाइरहेको अवस्थामा नेपाल आमालाई पीडा होइन, सान्त्वना दिऊँ । हिजो जसरी मिलेर बसेका थियौं, बुद्धको सन्देश मनमा लिएर मन, वचन र कर्मले जुट्नुपर्ने बेला आएको छ । पूर्वाग्रह त्यागेर मन बचन र कर्मले देश समृद्ध र सक्षम बनाउन घरदेश र परदेशमा भएका सम्पूर्ण नेपालीहरूले नेपालमा शान्ति मेलमिलाप र भाइचारा बाँड्न सक्नुपर्छ । हामी प्रवासीहरू मुलुक जलिरहेको पीडाबाट अत्यन्तै दुःखित भएर रोइरहेका छौं ।

हाम्रो देशमा अनुशासन र नियमका  कुरा हराउँदै गएको छ । राम्रो संस्कार सिकाउनेभन्दा कु–संस्कार सिकाउने  भड्काउनेहरूको बोलवाला छ । देशमा हिंसात्मक आन्दोलन गराउने र अधिकारका लागि सडकमा आउनुपर्छ भनेर उराल्नेहरूले देशलाई तहस–नहस पारिरहेका छन् । देशमा भएको हिंसात्मक घटनाहरूलाई अधिकारको लडाइँ ठान्नेहरू आफू पर्दा पछाडि बसेर निर्दोष जनता सडकमा उतारेर  रगतको खोलो बगाएर तमासा हेरिरहेछन् । यस्तो संस्कारले हाम्रो देशमा न शान्ति न जनताको मुहारमा कान्ति ल्याउन सकिन्छ । दिनानुदिन जनतामा निरासा, भय, त्रास बढेको छ । अहिले झन् राजनीतिक रूपमा देश अधोगतिमा जाँदैछ । अराजकता फैलाउनेलाई कडाभन्दा कडा सजाय दिनुप¥यो । सही र जायज मागको सुनुवाइ गरिनुपर्छ । सल्किएको आगोमा घिउ थपेर अझ दन्काउने काम बन्द गर्नुप¥यो । सम्बन्धित निकायका सम्पूर्णले समय रहँदै यसमा सजग भएर चल्न सिकौं । बाध्यताका अनेक जंघार छिचोल्दै पसिना बेच्न आएका हामी नेपाली आफ्नो मुलुक फर्कंदा जलेर ठूटो भएको नेपाल हैन, समृद्ध, समुन्नत नेपाल हेर्न चाहन्छौं । आफ्नो भाइ–भाइबीच झैझगडा होइन, शान्ति मेलमिलाप र आत्मीयता चाहन्छौं । हामी रगत पसिना बेचेर, ज्यानको बाजी थापेर मुलुकका लागि पेट काटेर रेमिटेन्स पठाइरहेका छौं । आन्दोलनकारी र सरकारले मुलुकको यो कहालीलाग्दो अवस्थाबाट मुक्त गरेर जातीय सहिष्णुता, धार्मिक सहिष्णुता, क्षेत्रीय सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रवासमा रहेका हामी नेपाली अपिल गर्छौं ।

– via – Tarun Khabar

You might also like More from author