जलेश्वरमा झडपपछि गोली चल्यो

0 5

२३ भदौ, जलेश्वर । महोत्तरीको जलेश्वरमा बुधबार अपराहृन प्रहरी र प्रदर्शनकारीवीच भएको मुठभेडमा प्रहरीको गोली लागेर ३ जना गम्भीर घाइते भएका छन् ।

jaleshworदिउँसो २ बजेदेखि जलेश्वरमा विभिन्न ठाउँबाट मानिसहरुको भीड एक्कासी भेला हुन थालेको थियो । स्थानीय महेन्द्र चोकमा भेला भएको भीडमा मधेसी मोर्चाका नेताहरुले सम्बोधन गर्ने तयारी गरिरहेका थिए । त्यहीबेला उत्तरतर्फ तैनाथ रहेका प्रहरीमाथि केही व्यक्तिले ढुंगा प्रहार गरेका थिए ।

सुरुमा स्थानीय नेताहरुले प्रहरीसँग छलफल गरेर स्थितिलाई साम्य पार्न प्रयास गरेका थिए । त्यसक्रममा ढुंगा हान्ने केही व्यक्तिलाई प्रहरीले पक्राऊ समेत गरेको थियो ।

तर, त्यसको केही समयपछि कारगार र जिल्ला अदालत रहेको खाली चौरीबाट प्रहरीले अश्रुग्यास प्रहार गर्‍यो र भीडलाई तितर वितर पार्ने प्रयास गर्‍यो ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार प्रहरीले लुकेर अश्रुग्यास प्रहार गरेको थियो । प्रहरी प्रशासनलेशान्तिपूर्ण कार्यक्रम गर्न आएकाहरुमाथि अनावश्यक बल प्रयोग गरेको स्थानीय प्रत्यक्षदर्शी बताउँछन् ।

तर, प्रहरीमाथि ढुंगा प्रहारसँगै प्रदर्शनकारीले जिल्ला अदालतमा आगजनी गर्न लागेपछि सरकारी सम्पत्ति जोगाउने क्रममा बल प्रयोग गर्नुपरेको प्रशासनको भनाइ छ ।

घटनामा गोली लागेर घाइते भएकाहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।