नेपालमा कलाकारको खडेरी विदेशमा बाढी

0 13

दुबई । जतिजति तीज नजिकिदै छ, यूएईका नेपालीहरुको व्यस्तता बढ्दो छ । नेपालका राष्ट्रियस्तरका कलाकारहरुको आगमनले यूएईका नेपालीहरुको यसपालीको तीज सांगीतिक तथा रमझमपूर्ण हुने देखिएको छ ।

यूएईमा क्रियाशील हरेक संस्थालाई तीजको रमझमले झ्याप्पै छोपेको छ । केही जिल्लास्तरीय संस्थाहरुले तारे होटलमा दर खाँदै अनि खुवाउँदै तीजको लहर ल्याउन सुरुवात गरिसकेका छन् ।

आगामी सेप्टेम्बर १० र ११ तारिखका दिन झनै मनोरन्जनात्क हुने भएको यूएईका विभिन्न शहरहरु दुबई, राख अलखेमा, अबुधाबी तथा फुजेरामा सोही दिन तीज विशेष सांगीतिक कार्यक्रमहरु आयोजना हुने भएका छन् ।

महिलाहरुको नाँचगानको पर्व तीजका अवसरमा देश विदेशमा घुम्न पनि पाइने अनि मञ्चमा उभिएर यसो एकदुई भाका सुनाइदिएपछि मोटो रकम पनि हात पर्ने भएपछि राष्ट्रिय स्तरका कलाकारहरु विदेश जान तँछाडमछाड गरिरहेका छन् ।

प्रवासमा रहेका नेपालीहरुको क्रियाशीलतामा हुने विभिन्न तीज विशेष सांगीतिक कार्यक्रमका लागि यतिबेला गाइजात्रामा ब्यस्त हाँस्यकलाकारदेखि चर्चित गायक गायिका र चलचित्रका नायक नायिकासमेत प्रवासतिर हुइँकिएका छन् ।

आगामी सेप्टेम्बर १० मा दुबईको इम्पेरियल होटल तथा ११ मा रास अल खेमाको मिनिस्टी कल्चल हलमा तीज महोत्सव हुने कार्यक्रमका संयोजक अनेकसका उपाध्यक्ष रेखा घिमिरेले बताइन् ।

कार्यक्रममा यूएईका अधिकांश सामाजिक संस्थाहरुलाई अनेकसका महासचिव तथा लोकगायक गोपीकृष्ण पंगेनीले पत्र काटेरै सहकार्यका आहृवान गरेका छन् ।

राख अल खेमामा सक्रिय दुई संस्था एनआरएन क्षेत्रीय समिति र नेपाली जनप्रगतिशील मञ्चले ११ तारिखका दिन आयोजना हुने कार्यक्रमलाई व्यापक बनाएका छन् । १ हजार २ सय वटा टिकट बिक्री भएको एनआरएनका अध्यक्ष राजेन्द्र रास्योराले जानकारी दिएका छन् ।

हजार क्षमता भएको मिनिस्ट्र कल्चर हलमा निर्धारित सिट संख्याभन्दा बढी टिकट बिक्री भएपछि आयोजकहरु हौस्ािएका छन् । १० तारिख दुबईमा पनि ७० प्रतिशत टिकट बिक्री भएको अनेकसका संरक्षक आशिष पुरुषले बताएका छन् ।

हाँस्य कलाकार मनोज गजुरेल, नायिका पि्रयंका कार्की, लोकगायिका कृष्णा गुरुङलगायत कलाकारहरुको टोलीको साथमा अन्तर्राटि्रय कलाकार समाज यूएईले तीज महोत्सव-२०७२ कार्यक्रम गर्न लागेको छ ।

महोत्सवको लोगो अंकित टिसर्ट लगाएका कलाकारहरुको टोली नेपालीहरुको बाक्लो जमघट स्थानमा पुगी प्रचारप्रसारमा व्यस्त रहेका छन् । यी दुबै स्थानमा आयोजना गरिएको साङ्गीतिक कार्यक्रममा नेपाल पत्रकार महासंघको मिडिया नेटवर्क समूह लगायत यूएईमा क्रियाशील सामाजिक संस्थाहरु सक्रिय छन् ।

सोही दिन अबुधाबीमा चंगा इन्टरटेनमेन्टले भद्रगोल टेलिसिरियलका कलाकारसहित अल नादा स्कुलमा भव्य सांगीतिक कार्यक्रम गरिरहेको छ । उक्त कार्यक्रमबाट प्राप्त मुनाफाबाट समस्यामा परी नेपाली दूतावासमा सेल्टर लिइरहेका नेपाली चेलीबेटीलाई नेपाल फिर्नका लागि हवाई टिकट प्रदान गर्ने लक्ष्य लिएको सोही कार्यक्रममा प्रस्तुति दिइरहेका रुन्चेगायक प्रकाश पौडेलले बताए ।

उक्त कार्यक्रममा लोकगायिका जानकी मगरका साथमा भद्रगोलबाट परिचिति कालकारहरु जिग्री, पाँडे, बेलासे मुख्य आकर्षक रहनेछन् । सोही दिन फुजेरामा पनि नायिका रेखा थापासहितको जम्बो टोलीले प्रस्तुति दिने आयोजकको तर्फबाट कास्कीका रतन थापाले बताए । यो कार्यक्रमको सफलताबाट पनि भूकम्पपीडित बालबालिकाहरुलाई सहयोग गर्ने लक्ष्य लिइएको छ ।

११ तारिखकै दिन दुबईमा रुपन्देही सेवा समाज र लुम्बिनी वेल्फेयर सोसाइटीको महिला विभागले गायिका तथा स्टेजक्वीन मञ्जु पौडेल, हाँस्य कलाकार कमल गाउँले र रामजी खाँड लगायतका कलाकारको उपस्थितिमा तीज विशेष सांगितिक कार्यक्रम आयोजना गरेका छन् ।