कमाउन मलेसिया आएका प्रजा ह्विलचेयरमा रुँदै फर्किए

0 13

रामचन्द्र नेपाल

वैदेशिक रोजगारीबाट स्वदेश फर्किने युवाहरु गह्रुंगो ब्याग र हलुंगो मन लिएर एयरपोर्टमा पस्छन् । तर, बिमलालका ठीक उल्टो भयो ।
Dissabled-person
ह्विलचियरमा बसेर एयरपोर्टभित्र पस्दा विमलाल प्रजाको झोला हलुंगो तर मन गह्रुंगो थियो । आँखाभरि आँशु टल्पलाइरहेका थिए । आँशु पुछ्न उनले आफ्नो हात आँखासम्म पुर्‍याउन सक्दैनथे ।

सोमबार दिउँसो ४ बजेतिर साथीले ह्विलचेयर धकल्दै मलेसियाको बिमानस्थलमा छिराए बिमलाललाई । एयर एसियाको उडानबाट साँझको ५ः५५ मा उनी जन्मथलोका लागि उडे ।

दुई रोपनी जग्गा बन्धकी

चितवनको लोथर गाविस-२ का बिमलाल विपन्न परिवारका युवक हुन् । प्रजा समुदायका उनलाई लेखपढ गर्न आउँदैन । भएको दुई रोपनी जग्गाले बाबु, श्रीमती, दुई छोरी र एक छोरालाई गुजारा गर्न धौधौ भएपछि उनी विदेशिन बाध्य भएका थिए ।

आफू नपढेरै दुख पाएको महसुस गरेका उनको छोराछोरीलाई धेरैभन्दा धेरै पढाउने सपना थियो । तर आफ्नो सपनालाई दैवले भाँजो हालेको ठान्छन् उनी । ‘छोरीहरु साना छन्, छोरो स्कुल जान थालेको छ । अब कसरी पढाउने हो र के खुवाउने हो भन्ने थाहा छैन,’ उनले आँशु पुछ्दै भने, ‘परिवारलाई सुख दिने भनेर विदेशिएको म आफंै परिवारका लागि बोझ बनेर फर्कदैछु ।’

विमलालसँग विदेश आउने पैसा थिएन । दुई रोपनी जग्गा गाउँको मगर दाइलाई एक लाख पचास हजारमा बन्धकी राखेका छन् । बाँकी पैसा ऋण खोजेर १ लाख ७० हजार रुपैयाँ प्यासिफिक ओभरसिजलाई बुझाएर उनी ६ महिना अगाडि मलेसिया आएका थिए ।

यसरी थला परे

विमलालले मलेसियाको जोहोरवारुमा रहेको पानीजहाजमा काम गर्न मात्रै थालेका थिए, दुई हप्तामै उनको शरीर लुलो हुन थाल्यो । खुट्टाबाट सुरु भएको यो समस्या बिस्तारै माथि-माथि सर्दै गयो । ६ महिनामा त उनी पूरै थला परे । अहिले देब्रे हात पटक्कै नचल्ने नै भएको छ ।

कम्पनी मालिकले अस्पताल त पुर्‍याए, तर निको हुने छाँट आएन । त्यसपछि न मालिकले थप उपचार गराउन चासो देखाए, न त म्यानपावरले नै उनलाई नेपाल झिकाउनका लागि कुनै सहयोग गर्‍यो । उनीसँग अस्पताल गएर आफैं उपचार गराउने क्षमता थिएन ।

कसरी फर्के नेपाल ?

यसैबीच, एकीकृत नेकपा माओवादीको अन्तर्राष्ट्रिय विभागसम्म उनको कुरा पुगिसकेको रहेछ । त्यसपछि उनी मलेसियामा रहेको जन प्रगतिशील मञ्चको सम्पर्कमा पुगे । मञ्चकोे पहलमा नेपाली दुतावास मलेसियासँगको समन्वयमा उनी नेपाल र्फकन सफल भएका हुन् । मञ्चका अध्यक्ष प्रेम पाण्डे भन्छन्, ‘निकै दुख गरेर नेपाल फर्काउन सक्यौं ।’

नेपाल फर्कनासाथ उनलाई एयरपोर्टबाटै प्रवासी नेपाली समन्वय समितिले सहयोग गरेको छ । ‘हामीले उहाँलाई एयरपोर्टबाट हाम्रो सेल्टर हाउसमा ल्याएर राखेका छौ । अब थप कदम अगाडि बढाउँदै छाैं,’ संस्थाका एक सदस्यले टेलिफोनमा भने ।

विमलालको परिवारका सदस्यसित अझै पनि मोवाइल फोन छैन । नेपालमा कसलाई सम्पर्क गर्ने हो त ? भन्दा उनी भन्छन्, ‘हाम्रो घरमा त मोवाइल छैन, गाउँको दाइको नम्बर छ, त्यसैमा गर्नुहोला ।’

प्रजाको आरक्षण खोइ ?

सरकारले प्रजा जातिका लागि विशेष आरक्षण छुट्याएको थाहा पाएका बिमलालले त्यो आरक्षण आफ्नो दैलोसम्म नआइपुगेको बताए । ‘हाम्रो जातलाई पनि कुन्नि के-के गर्ने हो भनेर रेडियोले फुकिरहन्थ्यो, खै आजसम्म केही भएको छैन,’ उनले गुनासो गरे ।