तत्काल एमआरपी बनाउन साउदी दूतावासको आग्रह

0 5

साउदी अरब । केही समयपछि हस्तलिखित राहदानी मान्य नहुने भन्दै साउदीस्थित नेपाली दूतावासले तत्काल एमआरपी बनाउन आग्रह गरेको छ । आगामी २४ नोभेम्बरदेखि हस्तलिखित राहदानी मान्य नहुने भएकाले तत्काल एमआरपी बनाउन दूताबासले आग्रह गरेको हो ।

MRPदूताबासलेे सूचना जारी गर्दै एमआरपी बनाउन बाँकी रहेका साउदी अरेबियासहित यमन, जोर्डन र सुडानमा रहेका सबै नेपालीहरुलाई यथाशीघ्र एमआरपी बनाउन आग्रह गरेको हो ।

यसअघि पनि पटक पटक सूचना जारी गरिएको भए पनि साउदी अरेबियामा अझै पनि ठूलो संख्यामा एमआरपी बनाउन बाँकी रहेको दूतावासले जनाएको छ ।

नेपाल सरकारबाट जारी भएको म्याद बहालसहितका सबै हस्तलिखित राहदानीको मान्य अवधि २४ नोभेम्बर २०१५ पछि स्वतः समाप्त हुने जनाउँदै दूतावासले छिटो भन्दा छिटो एमआरपी बनाउन सुचित गरेको हो ।

तोकिएको समयमा एमआरपी नबनाएमा भिसा लगाउने, भिसाको म्याद थप गर्ने तथा सो राहदानीबाट यात्रा गर्ने लगायत अन्य कुनै पनि प्रयोजनका लागि मान्य नहुने दूतावासले जनाएको छ ।

एमआरपी नबनाई हस्तलिखित पासपोर्ट लिएर यात्रा गर्नेलाई कुनै पनि विमानस्थलले रोक्ने वा फर्काउन सक्ने, बैदेशिक रोजगारीबाट बञ्चित हुनुपर्ने लगायतका समस्याहरु पर्न सक्ने भन्दै दूतावासले सचेत गराएको छ ।

हस्तलिखित राहदानीलाई विश्व नागरिक उड्डेयन संस्था (आईकाओ)ले आगामी नोभेम्बर २४ देखि मान्यता नदिने जनाएको छ ।