नेपाल आमालाई खाडीबाट चिठ्ठी

0 11

हे नेपाल आमा ! अरबको खाडीबाट प्रणाम तिमिलाई कोटीकोटी प्रणाम।

आँशुका रास, मनमा त्रास खुशीले पल बिताउन गार्हो भो !

कुर्सी र पैसाको लोभले बरै आफ्नैले मारे जिउन सार्हो भो !

हे नेपाल आमा ! म तिम्रो कोखमा जन्म लिन पाएँ । बुद्ध र सगरमाथाको देश भन्न पाएँ । वीर गोर्खाली हौं । हामी अनि विदेशमा ईमान्दारिताको नमुना बनेर कति खुशी थिएँ हिजोसम्म । यसरी देश विदेशमा मेरो जन्मभूमीको चर्चा सुन्दै सुनाउँदै हिँडदा मन चंगा भएको थियो । घर भित्रको लडाईंले पराईलाई फाइदा हुन्छ भन्थे, हो रहेछ बल्ल चाल पाउँदै छु । एक आपसमा नमिल्नु नै हाम्रो लागि दुर्भाग्य बन्यो ।

जीवनभर कसैको दास नबनेको हाम्रो देश अहिले अरुको बोलीमा चल्ने भयो । दैव पनि हामीमाथि नै लाग्नु पर्ने ! भूकम्पले आफ्ना आफन्त गुमाएका धेरैको मुहारमा बिस्तारै चमक आउन थालेको थियो । हिजो एकअर्कामा विभेद देख्नेको भावनामा सद्भाव र समानता देखिन थालेको थियो । हिमाल, पहाड अनि तराई एक अर्काको दुस्खमा रुने र सुखमा हास्ने बन्न थालेको थियो।

हाम्रो चम्किलो मुहार, दुःमा काध शत्रुलाई पचेन !

घर र गोठ पनि बाडिए यहाँ आफ्नो भन्ने नै बँचेन !!

राजु खड्का

सुन्न धेरै नै सुनिएको छ बिनासपछि विकास हुन्छ भनेर । भूकम्प जस्तो विपदबाट उठेको नेपाल कतै जापान जस्तै पो बन्छ कि भनेर नसोचेको होइन ।  उदाहरणको लागि यस्ता धेरै नमुना छन्, जहाँ दैवी प्रकोप र अन्य बिनासपछि नमूना बनेका छन् । तर खै किन हामी नेपालीमा कहिल्यै पनि नेपाल बनाउनु पर्छ भन्ने सोच आएन ।

किन हामीमा राजनीति भन्दा पहिला राष्ट्रको लागि सोच्न सक्ने क्षमता आएन होला ? खै किन हामीले म बाट हामी भन्ने सोचको विकास गर्न सकिएन ? यो जहिले पनि सबैका लागि प्रश्न बन्यो । उत्तर कसैबाट आएन । कोही अभिभावक बन्ने कोशिस गर्यो, न बन्न नै दिइयो ।

अरुको मुख ताकेर बसियो आफूमा भर पर्न जानिएन !

सँधै जात र पार्टी लागि, देशको लागि मर्न मानिएन !

कमजोरी सँधै हामी नेपालीको यही रहयो । रमिते बाहेक अरु बन्न सकेनौं । कागले कान लाग्यो भन्दा संधै आफ्नो कान नछामी दौडन सुरु गरियो । आफूले देखेको, महसुस गरेकोमा विश्वाश नगरी सँधै अरुको लहलहैमा भेंडा जस्तो बनियो । आफ्नो समाज र संस्कृति जोगाउन लाग्नुको साटो विदेशी संस्कार कै पछि लाग्यौं । नेता नचिनी भोट दियौं । भोट दिएपछि न कहिल्यै अधिकार माग्न सिकियो । न त गल्ती गर्नेलाई तह लगाउनै सकियो ।

हे नेपाल आमा तिमीमा परिवर्तन नभएको हैन भएको छ । समयसँगै चलेको छ, सिक्दै छौं हामी पनि । हामीमा मेहनत गर्ने बानी कम भएको छैन, हाम्रा यी हातहरुमा ठेला उठेर के भो सुकेका छैनन्, पैतलाहरु फुटेर के भो र हामी घिर्सिएर भएपनि हिँडेका छैनौ । हामीमा हिम्मत छ, जोश छ, ज्ञान सबै छ चेतनाको मात्र कमि भयो । आफ्नो र पराई तथा म र हामीमा कहिल्यै फरक भेट्न सकेनौं ।

झोला को साटो गोला बोकेर सडकमा पढियो !

अगाडि आएको आफ्नै रगतसँगै पनि लडियो !!

आफ्ना नानी बाबुलाई विदेश अध्ययन गर्न पठाएर नागरिकका छोराछारीलाई सडकमा नांगै उतार्नु कहाँको न्याय हो ? आफ्ना छिमेकीलाई एक आपसमा लडाएर रगतको खोला बगाउनु को अर्थ के हो ? नेपाल आमा यी सडकमा उतार्ने र उत्रने सबैमा चेतनाको कमी भयो अब त तिम्रो लागि सोच्ने सन्तान जन्माउ ! नेपाल आमा यदी यही प्रकृया हुँदै गयो, यस्तै काटमार हुँदै गयो भने तिम्रो नै अस्तित्व मेटिन्छ कि भन्ने डर लागिरहन्छ । रातमा निद दिनमा जोश हराउँदै गएको छ ।

शक्ती नयाँ शक्ती, पार्टी को शक्ति धेरै सुनियो र देखियो यहाँ

हरेक चोक-चोक र बस्ती-बस्ती यि युवाहरु पुग्दै छन् त्यहाँ !

अब यो पीडा, यो लडाईं, यो आतंक, पर्खाइ धेरै भयो । आशाहरु हराए अब मैले त सुनलाई पनि सुन नै हो भनेर विश्वास गर्न छाडीसकें । किनकी कतै बाहिर सुन भित्र केटाकेटीले खाने मिल्की मिठाई छ कि भनेर शंका लाग्न थाल्यो । म जस्ता लाखौं युवाहरु तिम्रो भरोसामा, तिम्रो विश्वाशमा परिवार जिम्मा लगाएर सात समुद्र पारी खाडीमा पसिना र रगतसँग पैसा साटेर देशको अर्थतन्त्र धानेका छौ अब यो विश्वाश नै टुटदै जाँदा यसको कुनै मोल छैन ।

अब हामी आउँछौं तिमीलाई बचाउन, तिमीले हामी नेपाली हुनुमा जुन गुन लगाएकी छौ आमा त्यो तिर्ने बेला आएको छ । युवाहरु जाग अब खाडीमा बसेर रमिता होइन स्वदेश फर्केर अस्मिता बचाउने समय आएको छ । केही समय पर्ख नेपाल आमा हाम्रा हातहरु तिमी रोइरहेको आँखाबाट आँशु पुछि तिम्रो मुहारमा मुस्कान छर्न आउँदैछन् ।

धेरै नसहनु यो अत्याचार, न बर्बराउनु तिमी नेपाल आमा !

तिम्रा सन्तान तिम्रा आफ्नै सन्तान आउँदैछन नेपाल आमा !

जय! जय!! जय !!!  नेपाल…….

उही तिम्रो परदेशिएको छोरा

राजु खडका, अर्घाखाँची

हालः संयुक्त अरब इमिरेट्स (युएई)