पश्चिम सेतीको प्राविधिक अध्ययनमा थ्री गर्जेज व्यस्त

0 10

२३ भदौ, काठमाडौं । ७ सय ५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनी थ्री गर्जेजले आयोजनाको प्राविधिक तथा आर्थिक अध्ययन तीव्र पारेको छ ।

west_setiथ्री गर्जेजको प्राविधिक टोलीले आयोजना स्थलको भौर्गभिक अध्ययन पनि गरिरहेको लगानी बोर्डले जनाएको छ । टोलीले आयोजनाले प्रभावित गर्ने सुदूरपश्चिमका डोटी, बैतडी, बझाङ, र डडेलधुराको भूभागमा रहेर प्राविधिक तथा भौर्गभिक लागयतका विषयमा अध्ययन गरिरहेको हो ।

रिर्पोटपछि पीडीएको प्रक्रिया

‘निकट भविष्यमै प्राविधिक रिर्पोट बुझाउने भनेर चिनियाँ टोली आयोजना स्थलमा गएको छ । उसले अबको महिनादिन भित्रै रिर्पोट ल्याउँछ भन्ने अपेक्षा छ ।’ लगानी बोर्ड स्रोतले भन्यो- ‘भूकम्पपछि नै आएर उनीहरुले भौगर्भिक अध्ययन सुरु गरेका हुन् । त्यसैले छिटै प्रारम्भिक रिर्पोट आउँछ होला ।’

थ्री गर्जेजले तयार गर्ने रिर्पोटमा आयोजनाले प्रभावित गर्ने क्षेत्र, लागत र अन्य धेरै प्राविधिक पक्ष संलग्न हुनेछन् । त्यसैका आधारमा आयोजनाको परियोजना विकास सम्झौता (पीडीए)बारे छलफल सुरु हुने लगानी बोर्डले जनाएको छ ।

१ खर्ब ५० अर्ब रुपैयाँ लागत अनुमान गरिएको पश्चिम सेती जलविद्युत् परियोजनामा कुल लगानीको ७५ प्रतिशत थ्री गर्जेज र बाँकी २५ प्रतिशत नेपाल सरकारले जुटाउने सहमति भएको छ ।

२१ वर्षअघि नै अष्ट्रेलियाको स्मेक कम्पनीले आयोजना निर्माणको जिम्मा लिए पनि उसले १० पटकसम्म इजाजतपत्र नवीकरण मात्र गरेपछि सरकारले ४ वर्षअघि इजाजत रद्ध गरिएको थियो । सन् २०१२को फेब्रअरी महिनामा थ्री गर्जेजसँग पश्चिम सेती निर्माणको सम्झौता भएको थियो ।

२२ हजार ५ सय मेगावाट क्षमताको विश्वकै सबैभन्दा ठूलो जलविद्युत् परियोजना निर्माण गरेको चाईना थ्री गर्जेज कर्परेसन चिनियाँ सरकारको पूर्ण स्वामित्वको कम्पनी हो ।