सवारी साधनको भाडा घट्यो, न्युनतम १३ रूपैयाँ

0 10

२३ भदौ, काठमाडौँ । पेट्रोलियम पदार्थको भाउ घटेका आधारमा सार्वजनिक सवारीसाधनमा भाडा समायोजन गरिने भएको छ । नेपाल आयल निगमले पटकपटक पेट्रोलियम पदार्थको भाउ घटाउँदा पनि सार्वजनिक सवारीसाधनको भाडा घटेको थिएन । यसको उपभोक्तावादी संस्थाले विरोध जनाउँदै आएका थिए ।

Busगत बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सवारीसाधनको भाडा पेट्रोलियम पदार्थको भाउ घटेको आधारमा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको थियो ।

कार्यालयको निर्देशनपछि भाडा घटाउन पुग्ने गरी पेट्रोलियम पदार्थको भाउ घटाउन आग्रह गरेपछि भदौ २० गते राति १२ बजेदेखि लागू हुनेगरी एक  रूपैयाँ भाउ घटाएको यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले जानकारी दिए ।

‘निगमले पुनः भाउ घटाएपछि भदौ २१ गते विभागमा नेपाल यातायात व्यवसायी महासङ्घ, उपभोक्तावादी सङ्घ संस्थाका बीचमा छलफल भएको छ, छलफलमा २.२२ प्रतिशत भाडा घटाउने सहमतिको अन्तिम चरणमा पुगेको छ, व्यवसायीले न्यूनतम रु १२ भाडा घटाउने सम्बन्धमा आज थप छलफल गर्ने प्रस्ताव गरेकाले बैठकबाट निर्णय गरिनेछ’- उनले भने ।

यसअघि सरकारले पुस र माघ महिनामा दुईपटक भाडा घटाई पाँच किमिममा न्यूनतम भाडा १३ कायम गरे पनि अझै लागू भएको छैन । व्यवसायीसँग न्यूनतम १२ भाडा कायम गर्न सोमबार प्रस्ताव गरिएकामा बुधबारसम्मको समय माग गरेपछि आज पुनः बैठक बस्न लागेको हो ।

उपभोक्ता मञ्च नेपालका अध्यक्ष हरेन्द्रबहादुर श्रेष्ठले यातायात व्यवसायमा दादागिरी गर्नेको बोलवाला बढेकाले सरकार निरीह बन्दा सार्वजनिक सवारीसाधनको भाडा समायोजन हुन समय लागेको बताए ।

‘सरकार निरीह र व्यवसायीको दादागिरीको प्रमाण विसं २०७१ पुस र माघमा घटाई न्यूनतम रु १३ कायम गरिएको भाडादर अहिलेसम्म लागू नहुनुु हो ।’ उनले भने ।

महासङ्घका अध्यक्ष दिनेश भण्डारी गत वर्ष पुस र माघमा घटाएको भाडा वैज्ञानिक पद्धतिअनुसार १४ रूपैयाँ हुनुपर्नेमा मन्त्रीले  एक रूपैयाँ थप घटाइ १३ रूपैयाँ बनाएकाले कार्यान्वयन हुन नसकेको बताउछन् । ‘पेट्रोलियम पदार्थको भाउ रु पाँच वृद्धि भए भाडा बढ्ने र घटे घट्ने वैज्ञानिक भाडा पद्धति हो, जसअनुसार अहिले २.२२ प्रतिशत भाडा घट्ने पक्का भएको छ ।’ उनले भने ।

आठ महिनापछि व्यवसायी न्यूनतम रु १३ भाडा कायम गर्न सहमत भएका छन् । भाडा घटाएर कार्यान्वयन भए नभएको अनुगमन गर्ने तयारीमा विभाग लागेको महानिर्देशक श्रेष्ठले बताए ।