पर्यटक बढाउन सहुलियत प्याकेज आवश्यक

0 14

२३ भदौ, काठमाडौं । पर्यटनविद् प्राडा रमेशराज कुँवरले भूकम्पपछि नेपालको पर्यटन उद्योगको पुनर्जीवनका लागि साझा प्रयासको खाँचो औंल्याएका छन् । यसका लागि सरकार, पर्यटनकर्मी, आतिथ्य सत्कार शिक्षासँग सम्बन्धित क्षेत्र लगायतले एकीकृत पहलकदमी अघि सार्नुपर्नेमा उनले जोड दिए ।

sagarmatha-7

ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेशन (गेट कलेज)द्वारा आयोजित ‘नेपाली पर्यटनको पुनर्जीवन’ विषयक अन्तरक्रियामा उनले अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन प्रबर्द्धनका लागि यतिखेर सकारात्मक सन्देशहरूको प्रवाहसँगै नयाँ पर्यटकीय उत्पादन तथा गन्तव्यको विकास पनि हुनुपर्ने खाँचो औंल्याए ।

‘अहिले हामीले परम्परागत पर्यटन उत्पादनहरूमाथि भर परेर हुँदैन, हामीले वैकल्पिक पर्यटन विकासमा ध्यान दिनैपर्ने बेला भएको छ’ प्राडा कुँवरले भने- ‘हामीसँगै पर्यापर्यटनसहित वैकल्पिक पर्यटकीय उत्पादनहरू प्रशस्त छन् । तिनलाई व्यवस्थित विकाससँगै बजारीकरणको भने खाँचो छ ।’

उनले तेस्रो विश्वमै वैकल्पिक पर्यटनको अवधारणाले अहिले गति पाइरहेको उल्लेख गर्दै नेपालले समेत यसलाई व्यवहारिक धरातलमा उतारेर पर्यटन क्षेत्रको विकासका लागि दिगो कदम चाल्न सक्ने बताए ।

भूकम्पका कारण ठूलो संख्यामा नेपालबाट पर्यटकहरू फर्किइ हाल संकटग्रस्त अवस्थामा रहेको नेपालको पर्यटनको पुनर्जीवनका लागि नयाँ ‘प्रकोप पर्यटन’को नयाँ अवधारणसमेत अघि सारे । भूकम्प वा अन्य प्रकोपजन्य प्रभावित क्षेत्रमा त्यहाँको पुनर्निर्माणसँगै पर्यटकीय गन्तव्यहरूको विस्तार नै ‘प्रकोप पर्यटन’को अवधारणा भएको उनले बताए ।

यस्तो समयमा नेपालले पर्यटनका नियमित शुल्क, महसुल वा दर लिने नभइ विशेष सहुलियतका प्याकेज बनाउनु पर्ने उनको भनाइ छ । ‘विश्वमा एकखाले पर्यटक यस्ता हुन्छन, जसले सस्तो मूल्यमा राम्रो गन्तव्यमा आतिथ्य सत्कार सेवा खोजिरहेका हुन्छन, अहिले हामीले तिनै पर्यटकमात्र भित्र्याउन सक्नुपनि उल्लेख्य हुन्छ’ उनले भने ।

सो अवसरमा गेट कलेजका अध्यक्ष प्राडा मिनासिंह खड्काले नेपालमा पर्यटन क्षेत्रमा दक्षजनशक्तिको अभाव रहेकोले कलेजले त्यो अभावपूर्तिका लागि गुणस्तरीय शिक्षित जनशक्ति तयार पार्नमा जोड दिइरहेको बताइन् ।

गेट फ्याकल्टीद्वारा आयोजित कार्यक्रममा अध्यापक जीवनजंग राणाले आतिथ्य सत्कार शिक्षाका क्षेत्रमा गेट कलेजद्वारा वगित ७ वर्षदेखि चालिरहेका प्रयासबारे जानकारी दिए ।