शिक्षा दिवसमा विद्यालय पुरस्कृत

0 10

भाद्र २२, २०७२- शिक्षा मन्त्रालयले ३६औं राष्ट्रिय शिक्षा दिवसतथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा देशभरिका १३ विद्यालयलाई पुरस्कृत गरेको छ । यो वर्ष सामुदायिक विद्यालयतर्फ काठमाडौंको सितापाइलास्थित युवा सहभागिता माविले २ लाख रुपैयाँ नगदसहितको राष्ट्रिय पुरस्कार पाएको छ । त्यस्तै शिल्ड, ध्वजा, प्रमाणपत्र प्रदान गरिएको छ । शिक्षा मन्त्री चित्रलेखा यादवले मंगलबार आयोजित समारोहमा उक्त पुरस्कार प्रदान गरेकी हुन् ।

त्यसैगरी सामुदायिक विद्यालयतर्फ एक लाख रुपैयाँ राशिको क्षेत्रीय पुरस्कार प्राप्तमध्ये पूर्वाञ्चलमा ओखलढुंगाको वरुणेश्वरा उच्चमावि, मध्यमाञ्चलमा काठमाडौंकै तरुण मावि, पश्चिमाञ्चलमा बुटवलको कान्ति उच्चमावि, मध्यपश्चिमाञ्चलमा भैरव उच्चमावि र सुदूरपश्चिमाञ्चलमा कैलालीको समैजी उच्चमाविलाई प्रदान गरिएको छ । त्यस्तै, १ लाख रुपैयाँ राशिको दुर्गम क्षेत्र विद्यालय पुरस्कार जुम्लाको राहदेवी मावि मिलालाई दिइएको छ ।

संस्थागत विद्यालयतर्फ ललितपुरको कुपण्डोलस्थित नाइटिङ्गेल इन्टरनेसनल माविलाई २ लाख रुपैयाँ नगदसहितको राष्ट्रिय पुरस्कार दिइएको छ । क्षेत्रीय पुरस्कार पाउनेमा पूर्वाञ्चलमा विराटनगरको बाल कल्याण विद्या मन्दिर, मध्यमाञ्चलमा काठमाडौंका द एक्सेलसियर आवासीय मावि, पश्चिमाञ्चलमा कास्कीको गण्डकी आवासीय उच्चमावि, मध्यपश्चिमाञ्चमा दाङको तुलसी आवासीय मावि र सुदूरपश्चिमाञ्चलमा कञ्चनपुरको इन्टरनेसनल पब्लिक स्कुल पुरस्कृत भएका छन् । पुरस्कारको राशि १ लाख रुपैयाँ, शिल्ड, ध्वजा र प्रमाणपत्र रहेको छ ।

यसै वर्षबाट प्राविधिक एसएलसी दिलाउने ९९ विद्यालयमध्ये उत्कृष्ट रुपन्देहीको कालिका उच्चमाविलाई ध्वजा र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै, प्राविधिक शिक्षातर्फ मोरङको मनमोहन मेमोरियल पोलिटेक्निक इन्स्टिच्युट, काठमाडौंको काठमाडौं मोडेल अस्पताल स्कुल अफ नर्सिङ, कास्कीको मनिपाल कलेज अफ मेडिकल साइन्स, बाँकेको भेरी प्राविधिक शिक्षालय र डोटीको सेती प्राविधिक शिक्षालय पुरस्कृत गरिएका छन् । साथै, त्रिभुवन विश्वविद्यालयअन्तर्गतको आंगिक क्याम्पसमध्ये इलामको महेन्द्र बहुमुखी क्याम्पस र सम्बन्धनको पोखराको जनप्रिय बहुमुखी क्याम्पसलाई २ लाख ५० हजार रुपैयाँको पुरस्कार दिइएको छ ।

पुरस्कार वितरण गर्दै मन्त्री यादवले सरकारको लक्ष्यअनुसार सन् २०१५ सम्म सबैका लागि शिक्षा र साक्षरता अभियान सफल रुपमा अघि बढेको दावी गरिन् । साथै, शिक्षा ऐन संशोधनको क्रममा रहेको र उच्च शिक्षा छाता ऐन प्रस्तवित रुपमा रहेको जनाइन् । ‘दिगो विकासका लागि गुणस्तरीय शिक्षा, सबैका लागि सुरक्षित शिक्षण संस्था’ नारासहित आयोजित समारोहमा शिक्षा सचिव विश्वप्रकाश पण्डितले महाभूकम्पबाट शिक्षालयहरुको पुन:निर्माणमा ४० अर्ब लागत लाग्ने बताए ।

त्यस अवसरमा साक्षरता अभियानमा जुट्दै आएका विभिन्न सिकाई केन्द्र, साक्षरता अभियानमा सघाउ पुर्‍याउने संघ/संस्था, व्यक्तिलाइ प्रशंसापत्र प्रदान गरिएको थियो । विभिन्न निकायले शैक्षिक प्रदर्शनी गरेका थिए भने विभिन्न विद्यालयका विद्यार्थीले सांस्कृतिक वाद्यवादनसहित नृत्य र गायन प्रस्तुत गरेका थिए ।