गच्छदार बाहिरिए, रामसपा पनि

0 7

भाद्र २२, २०७२- थरुहटबिनाको सात प्रदेशलाई निरन्तरता दिइए संविधानसभाको प्रक्रिया बाहिष्कार गर्ने चेतावनी दिइरहेका फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले मंगलबार संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई भेटी औपचारिक पत्र बुझाएका छन् ।

संविधान प्रक्रियालाई धीमा गरी आन्दोलनकारी मधेस, थरुहट, मगरात, लिम्बुवानलगायतका शक्तिसग वार्ता गरी संघीयताको बारे नया सहमतिमा पुग्न गच्छदारले आग्रह गरेका छन् ।

‘नया सहमतिको परिस्थिति निर्माण नभएसम्म जारी प्रक्रियाबाट हाम्रो पार्टी अलग भएको जानकारी गराउँदै,’ गच्छदारले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘सहमतिका लागि अध्यक्षज्यूबाट हुने सकारात्मक पहलहरुमा रचनात्मक सहयोग गर्न तयार छु ।’

यसैगरी शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीले पनि प्रक्रियाबाट अलग भएको घोषणा गरेको छ । संसदीय दल नेता निर्जला राउतबाट सभा अध्यक्ष नेम्वाङलाई मंगलबारै बुझाएको चिठीमा विगतका सहमति कार्यान्वयनका लागि अन्तिम समयसम्म प्रयास गरे पनि सफल नभएपछि प्रक्रिया बहिष्कार गरेको जानकारी गराइएको छ ।