पार्टी नीतिभित्र रहेरमात्र बहस गर्न एमाले सभासद्लाई निर्देशन

0 10

भाद्र २२, २०७२- एमालेले संविधानको विधेयकमाथिको छलफलमा पार्टीको नीति र निर्णयभित्र रहेर मात्र बहस गर्न आफ्ना सभासद्हरुलाई निर्देशन दिएको छ ।

संसदीय दलको मंगलवारको बैठकमा अध्यक्ष केपी ओलीले झण्डै दुई घण्टा निर्देशनात्मक भाषण गर्दै सभासद्हरुलाई पार्टी नीति भन्दा विपरित नबोल्न सचेत गराएका हुन् । संविधानको विधेयकमाथि बिहिबारबाट सभासद्हरुको बोल्ने क्रम सुरु हुनेछ । त्यसका लागि सभासद्हरुले आ–आफ्नो नाम टिपाउन थालिसकेका छन् ।

अहिले सम्म एमाले संसदीय दल एक ढिक्का रहेकोमा आफूलाई गौरव लागेको भन्दै ओलीले त्यस्तै एकता आगामी दिनमा पनि कायम राख्नुपर्ने बताए । उनले संविधान सभामा बोल्ने बिषयमा कुनै अस्पष्टता भए पार्टीका नेता र संसदीय दलका प्रमुख सचेतकसंग छलफल गर्न उनले निर्देशन दिए । ‘अहिले सबै तिर एमाले जस्तो पार्टी हुनपर्छ भनेको सुनिन्छ, यस्तो संसदीय दलको नेता हुनमा मलाई गौरव छ ।’

अध्यक्ष ओलीले एमालेको पोजिसनकै कारण अहिले संविधान बन्ने अवस्था आएको बताए । संविधानका बिषयमा अन्य पार्टीहरुभित्र दल एकटिक्का हुन नसकेको प्रति ओली व्यंग गरे । ‘दल भनेको त एमाले मात्र रहेछ , अरु त हाटबजार जस्ता रहेछन्, कोही पनि केहीबाट नियन्त्रित रहेछन्’ अध्यक्ष ओलीले भने । उनले संविधान बन्न विन्दु आएकाले अब यसबाट कुनै पनि हालतमा पछि फर्किने सम्भावना नरहेको बताए ।

मधेसका सभासद र नेताहरुलाई पनि ओलीले ढुक्क भएर बस्न आग्रह गरे । ‘मधेसका साथीहरु अब मधेस कसरी जाने होला भनेर डराउनु भएको होला तर त्यस्तो होइन’ अध्यक्ष ओलीले भने,‘संविधान बनेपछि म नै मधेसका सबै ठाउँमा तपाईहरुसँग जान्छु र हामीले भनिरहेको कुरा त्यहाँ जनतालाई बुझाउँछु ।’ ओलीले मधेसा समस्याहरु समाधान गर्न एमाले तयार रहेको उल्लेख बताए । संविधान परिवर्तनीय कुरा भएकाले यसलाई संशोधन गर्दैै जानसकिने उनको भनाई थियो । बैठकमा प्रमुख सचेतक अग्नि खरेलले सभासद्हरुले समयमै सम्पत्ति विवरण बुझाउन ध्यानाकर्षण गराएका थिए ।