फोरम लोकतान्त्रिक औपचारिक रुपमै संविधानसभाबाट बाहिरियो

0 16

 

२२ भदौ, काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक औपचारिकरुपमै संविधानसभाबाट बाहिरिएको छ ।

फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले संविधानसभा अध्यक्ष सुुवास नेम्वाङलाई पत्र बुझाएरै संविधानसभाको प्रक्रियाबाट बाहिरिएको घोषणा गरेको हो ।

फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले केहीदिन संविधानसभाको प्रक्रिया रोकेर आन्दोलन पक्षसँग सहमति खोज्न तीन दलका नेताको ध्यानाकर्षण गराएका छन् ।

‘१६ बुँदे सहमतिबाट यहाँसम्म ल्यायौं तर, हामीलाई बाइपास गरेर अघि बढ्नुभयो’ फोरम सभासद रामजनम चौधरीले अनलाइनखबरसँग भने- ‘यसले देशलाई निकास होइन, गृहयुद्धतिर धकेल्ने काम भएको छ ।’

चौधरीका अनुसार सभाध्यक्षलाई बुझाइएको पत्रमा ठूला तीनदलको ‘पुरानो माइन्डसेट’ का कारण संविधानसभा छाड्ने अवस्था आएको उल्लेख छ । ‘कर्णाली र सुर्खेतमा आन्दोलन गर्दा सम्बोधन गर्ने तर, थारु मधेसी, जनजातिलगायतले आन्दोलन गर्दा सम्बोधन भएन’ उनले भने-‘त्यसैले हामीले त्यहाँ बस्नुको अर्थ रहेन ।’

अब आफूहरुले उठाएको मुद्दा सम्बोधन नभएपछि संविधानसभामा नजाने फोरम लोकतान्त्रिकले बताएको छ ।

जवाफमा सभाध्यक्ष नेम्वाङले अरुको ज्ञापनपत्र बुझ्दा धन्यवाद दिए पनि यो पकट नसक्ने बताए ।

तीनदलका नेताहरुलाई ध्यानाकर्षण गराउने भन्दै सभाध्यक्ष नेम्वाङले भने-तीन दल वा अन्य सभासदले राखेको संशोधनबाट निकास दिने बाटो हुन सक्छ ।’