‘हामी जे भन्छौं, अर्कै गरिरहेका छौं’

0 13
प्रचण्ड र बाबुरामको ‘वाक्‌युद्ध’
काठमाडौं: ‘एकता, संघर्ष र रूपान्तरण’ का माध्यमबाट आफूहरू २६ वर्षदेखि एउटै कमिटीमा रहँदै आएको दाबी गर्ने एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता बाबुराम भट्टराईको ‘वाक्युद्ध’ आइतबार कार्यकर्तामाझ पोखिएको छ।
तीन नेता एकताबद्ध रहेको सन्देश प्रवाह गराउने उद्देश्यले अनेरास्ववियु क्रान्तिकारीले आफ्ना कार्यकर्ता प्रशिक्षणका लागि बोलाएको कार्यक्रममा दाहाल र भट्टराईले एकले अर्कोलाई चस्का पस्ने गरी घोच्दै आफूलाई सर्व श्रेष्ठ ठहर्‍याउने प्रयास गरेका हुन्।
उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने आफूलाई प्रशिक्षककै रूपमा सीमित राखेर संविधान निर्माणमा आएका अवरोध र आफ्नो पार्टीले निर्वाह गरेको भूमिकाबारेमा कार्यकर्ताहरूलाई प्रशिक्षित गरेर मन्तव्य टुंग्याएका थिए। ‘मोहनविक्रम सिंहले बुद्धिजीवीहरू अवसरवादी हुन्छन्, उनलाई विश्वास गर्नु हुन्न, जिल्ला कमिटीभन्दा माथि ल्याउनु हुन्न भन्थे।
मोहनविक्रमको त्यो प्रस्तावलाई अस्वीकार गरेर मैले बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलाई एक ठाउँमा ल्याउने पहल गरेकै हो’, ३६ वर्षको उमेरमा आफू पार्टीको महामन्त्री भएको स्मरण गराउँदै दाहालले भने, ‘जति गाली गरे पनि माया लाग्छ।
मेरै नेतृत्वमा जनयुद्ध सुरु गर्ने रणनीति र कार्यनीति बनेकै हो, अरूको होइन। जनयुद्ध सुरु गर्न लेखिएको दस्ताबेजलाई कोसेढुंगा साबित भनिएकै हो।
मेरै नेतृत्वमा जनयुद्ध गरेकै हो। अहिले ६२ वर्षको भए। बूढो हुँदै गएपछि काम नलाग्ने भयो भनेर फालिदिने?’ दाहालले आमालाई भीरबाट फाल्न डोकोमा बोकेर जाने छोराको कथा पनि सुनाए।
‘गड्याङगुडुङ गरिरहेका बेला आमाले मेरो छोरा घर नपुगुन्जेल पानी नपरोस् भन्थिन्’, दाहालले भने, ‘अर्को नेताले ङ्याक्नै पर्ने। राम्रो गरेकोलाई राम्रो भने पो सम्मान हुन्छ।’
आफूले भट्टराईलाई उत्तराधिकारी बनाउन खोजे पनि आफूलाई भट्टराईले त्यो रूपमा व्यवहार नगरेको पनि प्रसंग दाहालले ल्याउन भ्याए। ‘चीनमा माओत्सेतुङले लिनप्याओलाई उत्तराधिकारी बनाउने खोज्थे।
लिनप्याओ चाहिँ माओलाई सिध्याउन खोज्थे’, दाहालले भने, ‘नेतृत्वलाई मार्न, नेतृत्वको छाला काढ्न खोजेर हुन्छ।’ माओवादी आन्दोलन आफ्नो मात्रै कारणले कमजोर नभएको दाबी गर्दै कमजोरीको जिम्मेवारी नेतृत्वको सोपानक्रमअनुसार नेताकार्यकर्ताले लिनुपर्ने पनि दाहालले बताए।
‘राम्रोनराम्रोको जसअपजस एउटैलाई दोष दिएर ९९ प्रतिशत चोखिन सक्छ? त्यो माक्र्सवादी विश्लेषण होइन। पहिलो, दोस्रो, तेस्रो, चौथो सोपानक्रमअनुसार जिम्मेवारी लिनुपर्छ। पानीमाथिको ओभानो बनेर मार्क्सवादी भइँदैन। यसको जिम्मवार सामूहिक रूपमा छौं’, दाहालले भने, ‘आलोचना, आत्मालोचना नगरी र जनवादी केन्द्रीयता लागू नगरी पार्टी बन्दैन।’
आफू, भट्टराई र श्रेष्ठबीच लामो छलफलपछि गत मंसिर २८ गतको केन्द्रीय समिति बैठकमा पेस गरिएको २५ बुँदे प्रस्तावमाथि १५ दिन जमेर बहस गर्नुपर्ने आवश्यकतामा दाहालले जोड दिए। आन्दोलनका उपलब्धि कांग्रेस र एमालेले खोस्ने घृष्टता गरेपछि पार्टीभित्रको बहस थाती राखेर आन्दोलनमा उत्रनुपरेको बाध्यता पनि उनले सुनाए।
‘राम्रोनराम्रोको जसअपजस एउटैलाई दोष दिएर ९९ प्रतिशत चोखिन सक्छ? त्यो माक्र्सवादी विश्लेषण होइन। पानीमाथिको ओभानो बनेर मार्क्सवादी भइँदैन।
शान्ति प्रक्रियामा आएपछि पार्टीको बुर्जुवाकरण भएको, पार्टी गुटैगुटले भरिएको, स्वार्थले घेरिएको उल्लेख गर्दै दाहालले भने, ‘एउटै जिल्लामा नौवटासम्म गुट हुन थालेका छन्। यो कम्युनिस्ट शैली हो त ? यस्तै गरेर अगाडि बढ्यौं भने हामीलाई विघटनबाट रोक्न कसैले सक्दैन।
कम्युनिस्ट पार्टीको विचार महत्त्वपूर्ण हो। विचारले मात्रै पुग्दैन। विधि र पद्धति पनि महत्त्वपूर्ण हुन्छ। हेटौंडा महाधिवेशनपछि कार्यदिशा एउटै छ। सरकार, सदन र सडकको मोर्चा बनाउने नीति एउटै छ। १६ बुँदे गर्नेमा एक मत छ। तर गुट बनाउन पनि छोडेका छैनौं। हामीलाई कुन विचारले डोर्‍याएको छ ?’
दाहालले अगाडि थपे, ‘जे भन्छौं, त्योभन्दा अर्कै गरिरहेका छौं। बुर्जुवाले भन्ने एउटा गर्ने अर्कै हुन्छ । भनाइ र गराइको तारतम्य छैन। गुटबन्दी अन्त्य गर्ने भनिराख्छौं, गुट पनि बनाइराखेका छौं। नयाँ पार्टी भनेको के हो? नयाँ पार्टी भन्ने समानान्तर कमिटी बनाउने हो ? गुटबन्दी गरिरहने हो?’ माओवादी आन्दोलनलाई पुनर्गठन गर्दा माओवादीकै नेतृत्वमा मुलुक आउने र एउटै कम्युनिस्ट केन्द्र नेतृत्व पनि माओवादीले गर्ने सम्भावना औल्याउँदै दाहालले भने, ‘भाइ फुटे गँवार लुटे भयौं भने अरू नै नालायकले लैजान्छन्।’
संविधानको प्रारम्भिक मस्यौदामा माओवादीकै छाप रहेको उल्लेख गर्दै दाहालले भने, ‘माओवादीले चाहे र भनेजस्तो भएको छैन तर पनि यो संविधान हाम्रै हो। कांग्रेसएमालेको होइन। गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्व कांग्रेसएमालेको मुद्दा होइन।
राजनीतिक पहल हाम्रै पार्टीको वरिपरि छ। राजनीतिको मियो हाम्रै पार्टीको हुने सम्भावना छ।’ भट्टराईले आफूले नयाँ अन्वेषण नगर्ने, अरूले गर्न खोजेकोमा पनि असहिष्णु हुने, यान्त्रिक हुने, नियतमा शंका गर्ने गरेका कारण कम्युनिस्टहरू पुँजीवादसँग हारिरहेको बताए।
‘नयाँ पार्टी, नयाँ संगठन, नयाँ नेतृत्व प्रणाली विकास गर्नुपर्छ । विचार, कार्यदिशा र संगठनको नेतृत्वमा रूपान्तरण गर्न सकेनौं भने मरेको लास बोक्न त सक्छन् । महादेवले सतीदेवी बोक्न त सक्नुहुन्छ तर मात्रिका, वैद्य र विप्लव सतीदेवीको अंग झरेझै झर्दै जान्छन्।’
आफू र दाहाल २६ वर्षदेखि एउटै कमिटीमा रहेको उल्लेख गर्दै भट्टराईले भने, ‘प्रचण्ड, नारायणकाजी र मैले अँगालो हालेरमात्रै हुँदैन।’ ०६९ जेठ २ गतेको सहमतिबाट पछाडि हट्दा फ्रेन्च मोडलको कार्यकारी प्रणाली, १० प्रदेश आफूले चाहेजस्तो र एउटा प्रदेश झापा, सुनसरी, मोरङ गरेर ११ प्रदेशको संघीय संरचना प्राप्त हुन नसकेको भट्टराईले बताए।
‘त्यतिबेला हामीलाई क्रान्तिकारी भूतसवार भयो’, दाहालप्रति लक्षित गर्दै भट्टराईले भने, ‘मुखमा चुनाव मनमा विद्रोह राख्यौं। कार्यदिशालाई भुल्यौं। पुँजीवादका निम्ति विद्रोह हुँदैनथ्यो। समाजवादका निम्ति विद्रोह गर्ने बेला भएको थिएन। हाम्रो दिमाग बाँडियो। प्रतिक्रान्तिकारीले षड्यन्त्र गर्ने मौका पाए।’
०३६ आफू २५ वर्षको हुँदा अखिल भारत नेपाली विद्यार्थी संगठनको अध्यक्ष रहेको र आफूले एक सय १० घन्टासम्म नसुतेर स्नातकोत्तरको थेसिस तयार पारेको स्मरण गराउँदै विद्यार्थीहरूलाई भट्टराईले भने, ‘जनयुद्धका बेला हामीले कलेज र विश्वविद्यालय छोडेर बन्दुक बोक्नुस् भनेकै हो। अबका केही दशक शान्तिपूर्ण जनसंघर्ष हुन्छ। ०६३ पछि राजनीतिबाट विमुख विद्यार्थीलाई राजनीतिका ल्याउन विद्यार्थी नेताहरू पनि कलेज भर्ना हुनुपर्छ किताब पढ्नुपर्छ।’