स्कूले केटाकेटीको लभले प्रहरीकहाँ सधै लफडा

0 12
जनकपुरधाम : धनुषामा स्कुले केटाकेटीको लभले प्रहरीमा हरेक दिनजसो लफडा हुने गरेको छ। प्रेममा परी घर छाडेर भाग्ने नाबालिकहरुको संख्या बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय धनुषालाई यस्ता मुद्दा मिलाउन भ्याइनभ्याइ हुने गरेको छ।
विद्यालयमा पढ्ने ११ देखि १७ वर्ष उमेर समुहका बालबालिकाहरु प्रेममा परेर घरबाट भाग्ने र त्यसपछि छोरा पक्षले आफ्नी छोरीलाई अपहरण गरिएको हो भनि मुद्दा हाल्न आउने क्रम बढेपछि प्रहरीलाई यस्तै मुद्दा मिलाउन बढी समय लाग्ने गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी कृष्ण प्रसाईले बताए। असार महिनामा मात्रै उमेर नपुगी भागेर विवाह गरेका सात जोडीलाई पक्राउ गरेर अविभावकको जिम्मा लागाएको जिल्ला प्रहरी कार्यालय अन्तर्गत रहेको महिला तथा बालबालिका सेलले जानकारी गराएको छ।
गएको श्रावणदेखि हालसम्म ६० जना नाबालिकहरु घरबाट भागेर प्रेम विवाह गरेको र उनीहरुलाई पछि समातेर अभिभावकको जिम्मा लगाईएको प्रहरी सहायक निरीक्षक मिथिला थापाले बताइन्।
केटा वा केटी पक्षले दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरि अभिभावकको जिम्मा लगाउने गरिएको थापाले बताइन। यस्ता घटनाहरुमा बढिजसो केटाकेटीहरु घरबाट भागेपछि शारीरिक सम्बन्ध समेत बनाउने गरेको र छोरीहरुलाई कम उमेरमा गर्भ बोक्नु पर्ने समस्या देखिएकोले छोरी पक्षले अपहरण मुद्दा हालेर बढी भन्दा बढि कार्वाही होस् त्यसका लागि प्रयास गर्ने गर्छन।
तर, प्रहरीले मुद्दाको प्रकृति हेरेर मात्र दर्ता गर्ने गरेको डिएसपी प्रसाईले बताए। यस्ता मुद्दाहरुमा नाबालिकहरुलाई समातेर ल्याएपछि उनीहरु आफु मर्न समेत तयार रहेको तर अभिभावकसंग नजाने भनि जिद्दि गर्ने गरेकोले सधैं जसो जिप्रकामा तमासानै लाग्ने गरेको महिला सेल प्रमुख विश्वनाथ महतोले बताए ।
कानुनमा उल्लेख भएअनुसार महिलाको विवाह गर्ने उमेर अभिभावकको मंजुरीमा १८ वर्ष तथा पुरुषको २१ वर्ष विवाह गर्ने उमेर निर्धारण गरिएपनि उमेरनै नपुगि भाग्ने जोडीहरुका कारण बालविवाहको क्रम समेत बढेको अधिकारकर्मी उर्मीला यादवले बताउँछिन् ।
घरबाट भागेका नाबालिकलहरुलाई अभिभावकले खोजी गरिदिन प्रहरीलाई उजुरी दिने गरेको भएपनि उनीहरु पक्राउ परेर आएपछि पनि राम्ररी घरमा नबस्न मानेपछि अधिकांशको विहेनै गर्ने गरिएको र यस्ता विवाहहरु शारीरिक, मानसीक र सामाजिक कुनै प्रकारले उपयुक्त नहुने गरेको यादवको भनाइ रहेको छ ।