सीमांकन टुंग्याउन सभाध्यक्षको आग्रह

July 12 2015 02:38
काठमाडौं: संविधानको मस्यौदा संविधानसभाबाट पारित भई राय संकलनका लागि जनतामा गएका बेला सभाध्यक्ष सुवास नेम्बाङले सीमांकनबिना संविधान जारी नगर्न दलहरूसँग आग्रह गरेका छन् । नेम्बाङले अझै संविधान बन्नेमा ढुक्क हुने स्थिति नबनिसकेको पनि बताए ।
राष्ट्रपति डा. रामवरण यादवले संघीयताको विषय संविधानसभाबाटै समाधान गर्न चार दलका शीर्ष नेतालाई लिखित सुझाव दिएको भोलिपल्ट सभाध्यक्ष नेम्बाङले सञ्चारकर्मीहरूसँग भने, ‘मस्यौदामाथि जनताको मत संकलन गर्ने चरणमा पुग्दा संघीयताको सीमांकनबारे केही प्रश्न उठेका छन् ।
जनताको मत संकलनका लागि छुट्ट्याइएको १५ दिनभित्र सीमांकनलगायत विवाद टुंग्याउन सकिन्छ ।’ सीमांकनको विवाद टुंगिए त्यसलाई जनताका रायसुझावसँगै संवाद समितिमार्फत संविधानसभामा प्रवेश गराउन सकिने नेम्बाङले बताए ।
नेम्बाङले सबै दललाई एक ठाउँ उभ्याएर अघि बढ्नुपर्ने आवश्यकता रहेकोसमेत औंल्याए । ‘नेताहरूले दुई घन्टामा सबै विवाद मिलाउँछु भनेका थिए । अहिले विवाद टुंग्याएर अघि बढ्न सकिने अवसर प्राप्त भएको छ’, नेम्बाङले भने ।
सीमांकनको विषय टुंग्याउन आफूले प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग आग्रह गरेको नेम्बाङले बताए । ‘सीमांकनलगायत अहिले उठेका विषय टुंग्याउन प्रयास गर्छौं भनेर नेताहरूले मलाई भन्नुभएको छ’, नेम्बाङले भने ।
सरकारले संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सभासद्ले उठाएका प्रश्नको आइतबार प्रधानमन्त्री सुशील कोइरालाले जबाफ दिएपछि असार २९ गते बजेट प्रस्तुत हुने जानकारीसमेत सभाध्यक्षले दिए ।
जतिसक्दो चाँडो बजेट प्रस्तुत गराएर सभासद्लाई जनमत संकलनका लागि पठाउने तयारीमा सभामुख रहे पनि सरकारले तयारी नपुगेको भन्दै २९ गतेमात्र बजेट प्रस्तुत गर्न सकिने जानकारी सभाध्यक्षलाई गराएको हो । ‘सरकारले २९ गतेमात्र बजेट पेस गर्न सकिने जबाफ दियो’, नेम्बाङले भने ।
सत्ता पक्षबाटै नीति कार्यक्रमको विरोध
सत्तापक्षीय एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उल्लेख्य छलफल नगरी सरकारले नीति तथा कार्यक्रम ल्याएको भन्दै असन्तुष्टि जनाएका छन् । नीति तथा कार्यक्रममाथि आइतबार संसद्मा बोल्दै नेता नेपालले विगतका सरकारका राम्रा कार्यक्रम नसमेटिएको भन्दै आपत्ति जनाए ।
भूकम्पबाट पीडित जनताको पुनस्र्थापना र पुनर्निर्माणका लागि सरकारले स्पष्ट कार्यक्रम नल्याएको आरोप उनले लगाए । ‘यो कार्यक्रमको प्राथमिकता के हो भन्ने नै स्पष्ट छैन’, उनले भने, ‘कस्तो नीति तथा कार्यक्रम ल्याउने, मुलुकलाई कसरी अघि बढाउने भन्नेमा सरकारले छलफल नै गर्न चाहेन ।’
सडक, हवाई, यातायातलाई विशेष रूपमा अगाडि बढाउनुपर्ने उल्लेख गर्दै नेपालले मध्यपहाडी राजमार्ग, काठमाडौं–तराई द्रुत मार्ग र हुलाकी राजमार्ग निर्माणमा सरकारको ध्यान जानुपर्ने बताए । दुई छिमेकीसँग जोडिन उत्तर–दक्षिण लोकमार्गलाई तत्काल अगाडि बढाउनुपर्ने आवश्यकता रहेको नेपालले औंल्याए ।

 

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top