प्लटिङले खेतीयोग्य जमीन मासिँदै , ४० मुरी धान फल्ने खेत प्लटिङ

0 13

२७ असार, भैरहवा । तिलोत्तमा नगरपालिका २० की जानुका भुसालको १५ कट््ठा खेतमा अघिल्लो वर्षसम्म ४० मुरी हाराहारी धान फल्थ्यो । मानो रोप्ने असार र मुरी भित्राउने मंसिरको चटारो उस्तै हुन्थ्यो । हिउँदमा गहुँ स्याहारी नसक्नु हुन्थ्यो । यो असारमा उनी फुर्सदिलो छिन् । मंसिरमा पनि अन्न भित्राउने चटारोले छोप्ने छैन ।

एनको त्यो खेल अहिले घडेरीमा परिणत भएको छ । १२-१५ फुटे कालो बाटोले खेतलाई चिराचिरा पारेको छ । बीचबीचमा बिजुलीका पोल ठडिएका छन् ।

तिलोत्तमा २० सखुवानीका दीपक चौधरीले पनि असारे र मंसिरे चटारोबाट मुक्ति पाएको नागरिक दैनिकमा खबर छ । विगतमा असारे झरी सुरु भएपछि खेतको बास हुन्थ्यो । हप्ता दश दिन भिडेपछि आँगनमै जोडिएको एक विगाहा खेतमा धान लहराएको हेरेर उनी थकाइ विर्सन्थे । त्यही खेतको धान र गहुँ बेचेर घरखर्च चल्थ्यो ।

अचेल उनका लागि यी सब कुरा एकादेशको कथा जस्तै भएको छ । गएको हिउँदमा उनको त्यही मलिलो खेतमा जग्गा ब्यापारीको आँखा पुगे । एकमुष्ठ मोटो रकम बुझ्ने लोभमा चौधरीले खेत बेचिदिए । एक विगाहा क्षेत्रफलमा अहिले सिमेन्टका साना पिलर गाडेर दुई दर्जनभन्दा बढी टुक्रा पारिएको छ । बीचबीचमा कालोबाटो र बिजुलीका रित्ता पोल छन् । जग्गा झाडीले भरिएको छ ।