खासाका कन्टेनरले भरियो एयरपोर्ट भन्सार (फोटो फिचर)

0 14
काठमाडौं : वैशाख १२ को शक्तिशाली भूकम्पपछि चीनको सिमाना खासामा रोकिएका एक सय कन्टेनर शनिबार दिउँसो काठमाडौं आइपुगेका छन् ।गर्मी मौसमका लागि चीनबाट ल्याइएका सामानसहित खासामै रोकिएका ती कन्टेनर करिब २ महिनापछि काठमाडौं भित्रेका हुन् ।

ती कन्टेनरमा भूकम्प अगाडि नै बच्चाका खेलौना, लुगा, जुत्ता, चप्पल र कस्मेटिक सामान लोड गरी काठमाडौं ल्याउने तयारी थियो ।

बा२ख २९३४ नम्बरको कन्टेनरका चालक राम श्रेष्ठले शनिबारमात्रै करिब एक सयवटा काठमाडौं छिरेका जानकारी दिए ।

भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले शनिबार सय वटा आएका जनाउँदै अब खासा भन्सारबाट हुने जाँचपास एयरपोर्ट भन्सारको कार्यालयबाट हुने जानकारी दिए ।

‘अर्को विकल्प नभएसम्म एयरपोर्ट भन्सारबाटै जाँच पासको व्यवस्था मिलाएका छौं’, ढुंगानाले भने, ‘खासामा रोकिएका कन्टेनर आउने क्रम केही जारी रहनेछ ।’भूकम्पअघि सामान लिन पुगेका ५ सय बढी कन्टेनर खासामा रोकिएका थिए । त्यसैगरी लोड नगरिएको करिब ५ सय कन्टेनर सामान पनि भन्सारमा रोकिएको थियो ।

लामो समय भन्सारमा रोकिएका कन्टेनर नेपाल ल्याउन चीनले बाटो खोलेपनि बारम्बार झर्ने पहिरोले समस्या भएको थियो ।