संविधान अब कसैले रोक्न सक्दैन : अध्यक्ष ओली

0 9
काठमाडौँ  : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान अब कसैले रोक्न नसक्ने बताएका छन्।
एमालेको केन्द्रीय कार्यालय मदननगर बल्खुमा पार्टी परित्याग गरी एमाले प्रवेश गरेका नेता तथा कार्यकर्तालाई स्वागत र सम्वोधन गर्दै ओलीले भने, ‘संविधानको मस्यौदा बनेर जनतामा गइसकेको छ। अब समयमै जारी हुन्छ। कसैले निहुँ खोजेर यो रोकिदैन।’
उनले चार दलबीच भएको १६ बुँदे समझदारीका आधारमा संविधान जारी हुने बताए। ओलीले लामो समयदेखि संविधान निर्माणमा उत्पन्न गतिरोध सो समझदारीबाट अन्त्य भएकाले त्यसलाई ऐतिहासिक मान्नुपर्ने उल्लेख गर्दै भने, ‘१६ बुँदे समझदारी आफैमा एउटा महत्वपूर्ण उपलब्धी हो।’
उनले नवप्रवेशीहरुलाई राष्ट्रिय एकता, सामाजिक सद्भावका साथ देश र जनतालाई विकास तथा समृद्धिका लागि जुट्न पनि आह्वान गरे। परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले पार्टीले अहिले सञ्चालन गरिरहेको अभियानले मुलुकलाई आधुनिकतातर्फ लैजाने विश्वास व्यक्त गरे।
नुवाकोटका एमओवादीका जिल्ला नेता एवम् पूर्व मेयर ठाकुरप्रसाद गजुरेल, राप्रपाका पूर्णलाल श्रेष्ठलगायतका ३५६ नेता तथा कार्यकर्ता सो पार्टीमा प्रवेश गरेका छन्।