फौजी इच्‍छा छोडेर माउते’

0 7
पथलैया (बारा): पर्सा बन्यजन्तु आरक्षको अमलेखगन्जस्थित हात्तीसार पस्ने बित्तिकै हात्तीको स्याहार सुसारमा ब्यस्त देखिने रमेश महाराको सपना माउते बन्ने थिएन । बाराको डुमरवाना घर भएका रमेश धेरै पढेर प्रहरी वा सेना बन्न चाहन्थे।
घरपरिवारको इच्छा पनि उनको जस्तै थियो। डुमरवानास्थित उच्च माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्दै गरेको छोरालाई प्रहरी वा सेना बनाउन नसके पनि सरकारी जागिर खुवाउने धोको रमेशका अभिभावकको थियो।
आर्थिक रूपमा परिवार सम्पन्न हुन नसकेकै कारण रमेशलाई पनि अभिभावकको चिन्ता थियो।
देशको सेवा गर्नुका साथै घरपरिवारलाई आर्थिक रूपमा सघाउन सानो उमेरमै फौजी बन्ने सपना देखेका रमेशको इच्छा तब फेरियो जब उनी पर्सा बन्यजन्तु आरक्षमा हात्तीको स्याहार सुसार गर्ने पछुवामा नियुक्त हुन पुगे।
पढाईसँंगै जागिर खोजिरहेका उनले पछुवा बन्ने अवसर गुमाउन चाहेनन्। करारमै भएपनि जागिरका लागि उनी तयार भए। प्रहरी वा सेना पछि बने पनि तत्कालका लागि पछुवाको जागिर खाने निर्णय उनले लिए । जागिरकै लागि बीचमै अध्ययनसमेत छाडे।
कामको खासै अनुभव नभएका उनलाई हात्तीको स्याहार सुसार गर्नु प्रहरी वा सेना बन्ने सपना बोकेजस्तो सहज थिएन।
हात्तीलाई नुहाउने, जंगलबाट खर ल्याउने, दाना बनाउनेजस्ता काम १९ वर्षीय रमेशका लागि निकै कठिन थियो।
काम देखेर सुरुमा अत्तालिएका उनलाई माउते र फणितले सिकाएका थिए। आरक्षका ११ हात्तीमध्ये राज्यकलीको स्यहारसुसार गर्न नियुक्त भएका उनले बिस्तारै काम सिके।
चार वर्षअघि नियुक्त भएका रमेशमा अहिले धेरै परिवर्तन आएको छ । करारबाट स्थायी हुन नसके पनि उनी अहिले पछुवाबाट माउते बनिसकेका छन्, हात्तीसारकै सबैभन्दा कान्छा माउते।
अहिले २३ वर्ष पुगेका रमेश कार्यलयबाट माउतेमा बढुवा भएका भने होइनन्। काम र अनुभवले उनलाई अहिले माउते बनाएको छ। उनी अहिले पछुवाको मात्र होइन माउतेको सबै काम गर्छन्।
आफूभन्दा दोब्बर उमेरको ४२ वर्षीय राज्यकलीको मुख्य रेखदेख उनले नै गरिरहेका छन्। प्रहरी वा सेना बन्ने उनको सपना पनि अब फेरिएको छ।
फौजी बन्ने इच्छा त्यागिसकेका उनले अब माउते भएर हात्तीको सेवा गर्ने बताएका छन् । अहिले उनलाई आफ्नै काम प्यारो लाग्न थालेको छ । माउते बनेर हात्तीको सेवा गर्न पाएकोमा उनलाई खुसी पनि लागेको छ।
‘सेनापुलिस बनेर जनताको सेवा गर्ने इच्छा थियो तर अहिले हात्तीको सेवा गर्दैछु’ रमेशले भने, ‘मलाई अहिले यसैमा खुसी लागेको छ । हात्तीको सेवा गर्न पाउनु पनि ठूलै भाग्य ठानेको छु।’
सेनापुलिस बनाउने इच्छा लिएका अभिभावक पनि आफ्नो कामबाट अहिले खुसी रहेको रमेशले बताए। पछुवामा नियुक्त भएपनि माउतेको काम गरेको थुप्रै वर्ष बितिसकेको अवस्थामा करारबाट स्थायी बनाउने प्रक्रिया अघि नबढ्दा भने अभिभावक चिन्तित हुने गरेको रमेशले बताए।
‘करारमै जागिर खाइरहदा उमेर गइसकेको हुन्छ, सेवासुविधा केही पाइँदैन । आमाबुबा दुःखित हुनु स्वभाविक हो,’ रमेशले भने, ‘पछि स्थायी गराउन खोज्दा ढिलो भइसकेको हुन्छ, उमेरले दिँदैन।’
हात्तीको सेवा गर्न पाउँदा खुशी लागे पनि हात्तीसारका थुप्रै माउतेले करारमै जागिरे जीवन बिताएर घर फर्कनुपरेको अवस्था देखेकाले चिन्तित बनाएको रमेशले बताए।
हात्तीसारमा माउते र अन्यको दरबन्दी खाली रहेपनि लामो समयदेखि काम गरिरहेकालाई नियुक्त गर्न चासो नदेखाउँदा आफूहरू पनि त्यसैगरी फर्कनुपर्ने डर मनमा रहेको रमेशको भनाइ छ।
‘हात्तीसारमा माउते, फणित र पछुवाको दरबन्दी खाली छ। एउटै व्यक्तिले तीनवटै काम गर्नुपरेको छ। करारमा सेवासुविधा पनि खासै छैन,’ उनले भने, ‘काम गरिरहेकालाई नियुक्त गरे हामीलाई अझै उर्जा मिल्ने थियो । यतिकै फर्कनुपर्ने डर हुने थिएन।’