नक्‍कली भूकम्‍पपीडितले रकम फिर्ता गर्न थाले

0 13
एकै दिन १३ जनाबाट एक लाख ९५ हजार फिर्ता
सिन्धुली: लिखित उजुरी परेपछि फर्जी विवरणका आधारमा राहत बुझ्ने गैरपीडितले रकम फिर्ता गर्न थालेका छन्।
क्षति नै नभएका र अर्को घर हुँदा हुँदै पनि विवरण भराएर रकम लिएको भन्दै उजुरी परेपछि मझुवा र भीमेश्वर गाविस तथा कमलामाई नगरपालिकाबाट नगद १५ हजार रुपैयाँ र भूकम्पपीडित परिचयपत्र फिर्ता हुन थालेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी तथा राहत दुरुपयोग छानबिन समितिका संयोजक बासु काफ्लेका अनुसार मझुवा गाविसबाट अठजना, भीमेश्वर गाविसबाट दुईजना र कमलामाई नगरपालिकाबाट तीनजनाले जिल्ला प्रशासन कार्यालयमा नै आएर १५ हजार नगदसहित परिचयपत्र फिर्ता गरेका छन्।
उनीहरूको नाममा लिखित उजुरी परेर समितिको छानबिनका क्रममा उपस्थित हुन भनेपछि झुटो विवरण लेखाउने र दोहोरो रकम बुझ्नेहरूले कार्यालयमा नै आएर रकम फिर्ता गर्न थालेका हुन्,’ काफ्लेले भने,‘ अहिलेसम्म १३ जनाले रकम फिर्ता गरिसकेका छन्।’
यसरी रकम फिर्ता गर्नेहरूमा मझुवा गाविस ५ का रामबहादुर खत्री, चन्द्रबहादुर खत्री, देवकी कार्की, तुलसा दाहाल, यज्ञबहादुर आचार्य, वडा नम्बर ३ का दुर्गाप्रसाद दाहाल, मीरा कार्की र उद्धव सार्की छन्।
यस्तै भीमेश्वर गाविस २ का टीकाबहादुर देवकोटा र सोमबहादुर श्रेष्ठले पनि नगद १५ हजार रुपैयाँसहित परिचयपत्र फिर्ता गरेको काफ्लेले बताए।
भूकम्प प्रभावित कमलामाई नगरपालिका तथा विभिन्न ३६ वटा गाविसमा अहिलेसम्म झण्डै २० प्रतिशत रकम फर्जी विवरण र दोहोरो क्षति देखाउनेले राहतको १५ हजार रुपैयाँ लिएको आरोप छ।
कमलामाई नगरपालिका ६ बाट भने हालसम्म तीनजनाले रकम फिर्ता गरेका छन्। यसरी रकम फिर्ता गर्नेहरूमा भुजा कार्की, नातिबाबु भण्डारी र रामबहादुर भुजेल छन्।
उनीहरू सबैले जिल्ला प्रशासन कार्यालयमा आएर शुक्रबार नगद र परिचयपत्र फिर्ता गरेका हुन्। उनीहरूबाट हालसम्म एक लाख ९५ हजार रुपैयाँ फिर्ता भएको छ।
मझुवाबाट २५ जनाभन्दा बढी र भीमेश्वरबाट ३० जनाभन्दा बढीले दोहोरो रकम लिएको र क्षति नै नभई भूकम्पपीडितका नाममा गैरपीडितले १५ हजार नगद बुझ्न थालेको उजुरी परेको छ।
सबैभन्दा बढी कमलामाई नगरपालिकामा फर्जी विवरण भरेर १५ हजार बुझेको भएपनि बास्तविक पीडितको भने नाम नै समावेश नभएको उजुरी परेको छ।
कमलामाई नगरपालिकाभित्र मात्र एक हजारभन्दा बढी गैरपीडितले नगद बुझेको बताइएको छ।
यसरी रकम बुझ्नेहरूमा दुईवटा जिल्लाबाट विवरण भर्ने, एकै घरका श्रीमान श्रीमतीको नाममा नक्कली अंशबण्डा गराएर र एउटै घर देखाएर तीनजनासम्मले नगद लिने रहेका छन्।
‘क्षति नै नभएका र अर्को घर हुँदाहुँदै पनि विवरण भराएर रकम लिनेहरूमाथि छानबिन थालिएपछि शुक्रबारबाट रकम फिर्ता हुन थालेको छ,’ सहायक प्रजिअ तथा संयोजक काफ्लेले भने, ‘रकम फिर्ता गर्न नमान्नेलाई तत्काल पक्राउ गर्न भनिएको छ।
रकम फिर्ता गर्न नमान्नेलाई ठगी आरोपमा मुद्दा चलाइने छ।’ जिल्लाको नगरपालिका र गाविसतहबाट गैरपीडितदेखि एकै घरका श्रीमान श्रीमतीसम्मले छुट्टाछुट्टै विवरण भराएर १५ हजार नगद लिएका छन्।
भूकम्प प्रभावित कमलामाई नगरपालिका तथा विभिन्‍न ३६ वटा गाविसमा अहिलेसम्म झण्डै २० प्रतिशत रकम फर्जी विवरण र दोहोरो क्षति देखाउनेले राहतको १५ हजार रुपैयाँ लिएको आरोप छ।
कमलामाई नगरपालिका ४ मा धेरैजसोले क्षति नै नभएका र बजारमा घर भएकाहरूले समेत गाउँको गोठ देखाएर पनि नगद लिएका छन्।