हिलाम्मे सडकमा रोपाइँ

0 1
काठमाडौं: सडक विस्तारपछि समयमा कालोपत्रे नगरिएका राजधानीका विभिन्न सडकखण्डमा स्थानीयले रोपाइँ गरेका छन्।
राजधानीका भित्री सडक बानेश्वर-भीमसेनगोला, भीमसेनगोला-सिनामंगल, चाबहिल-महांकाल, मैतीदेवी–डिल्लीबजारलगायत सडकखण्डमा हिलाम्मे सडकमा स्थानीय तथा व्यापारीले रोपाइँ गरेका हुन्।
सडक फराकिलो पारिएको तीन वर्षपछि पनि कालोपत्रे नगरिएका कारण घाम लागेपछि धुलो र वर्षा भए पनि हिलो खान बाध्य भएका स्थानीयले शुक्रबार विरोधको नौलो तरिका अपनाएका हुन्।
सडक फराकिलो पारेपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको परियोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले खानेपानी र ढलको पाइपलाइन ओछ्याउन ढिलो गरेका कारण समयमा कालोपत्रे हुन नसक्दा सडक सामान्य वर्षामा पनि सर्वसाधारण हिँड्न नसक्ने गरी हिलाम्मे बन्ने गरेको छ।
बानेश्वर-भीमसेनगोला सडकखण्ड समयमा कालोपत्रे नगरेको विरोधमा स्थानीय र प्रहरीबीच झडपसमेत भएको थियो। झडपका क्रममा आधा दर्जन व्यापारी र स्थानीय घाइते भएका थिए।
उपत्यका सडक विस्तार आयोजनाका प्रमुख प्रभात झाले पीआईडीका कारण विस्तारित सडक कालोपत्रे गर्न ढिलाइ भएको बताए।
उनले आगामी आइतबारसम्म हिलाम्मे सडकमा रोडाढुंगा ओछ्याउने जानकारी दिए।
‘स्थानीयसँग सडक निर्माण गर्ने सहमति भएको छ’, उलने भने, ‘पहिले रोडाढुंगा ओछ्याएर सम्याउने काम सम्पन्न गर्छौं। पानी परेन भने कालोपत्रे गर्छौं।’
उनका अनुसार पीआईडीले मेलम्ची खानेपानीको पाइपलाइन र दोस्रोपटक ढलको पाइप ओछ्याउने नाममा एउटै सडकमा पाँचपटकसम्म खन्दै आएको छ।
पीआईडीको काम सकेपछि बिजुली र टेलिफोनको पाइपलाइन ओछ्याउन पनि करिब २० देखि २८ दिन लाग्ने भएकाले थप समस्या परेको उनले बताए।
सिनामंगल सडकमा निर्माण सामग्रीको पसल सञ्चालन गर्दै आएकी गायत्री भट्टराईले हिलोले व्यापार नै चौपट् भएको बताइन्।
स्थानीय सविता कार्कीले सडकका कारण आफूले तीन महिनादेखि धाराको पानी नपाएको गुनासो पोखिन्।

– Source:Annapurna Post

You might also like More from author