राष्ट्रपतिले शीर्ष नेतालाई भने-सादा पानामा लेखेर ल्याउनुस्, सही गर्न तयार छु दूरदर्शिता तथा स्टेटम्यानसिप देखाउन चार शीर्ष नेतालार्इ आग्रह

0 9

२५ असार, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले आफूले पद लम्ब्याउन खोजेको भन्ने आशंका नगर्न प्रमुख दलका नेताहरुलाई आग्रह गरेका छन् ।

शुक्रबार बिहान प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष प्रचण्ड र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारसँग भएको छलफलमा राष्ट्रपतिले संविधानको मस्यौदामा छलफल गर्न समय पाइन भन्ने गुनासो नआओस् भनेका छन् ।

केही दिनको ढिलो चाँडोले असन्तुष्टि नदेखियोस् भन्दै उनले यसलाई कसैको पद लम्ब्याउन खोजेको रुपमा नबुझ्न आग्रह गरे । उनले भने-‘तपाईहरुले भन्नुहुन्छ भने अहिल्यै छोड्न तयार छु, विगतमा पनि यही कुरा राखेको थिएँ । चार दललाई भनेको थिएँ । तपाईहरुलाई शंका लाग्छ भने सादा पानामा लेखेर ल्याउनुस् म सही गर्न तयार छु ।’

राष्ट्रपतिले चार दलबीच भएको सहमतिको आफूले स्वागत गरेको तर, बाहिर गलत प्रचार भएको बताए । उनले आफ्ना लागि संविधान जारी गर्ने दिन जस्तो खुशी जिन्दगीमा कहिल्यै नहुने बताएको राष्ट्रपतिका कानुनी सल्लाहकार सूर्य ढुंगेलले जानकारी दिए ।

राष्ट्रपतिले भने-संविधानसभाबाट एउटा मस्यौदा आयो । राम्रो भयो । जनताबीच जाँदैछ, राम्रा वा नराम्रा पक्षहरुमा छलफल हुने नै छ । अन्ततः २००७ सालदेखिको सपना साकार हुँदैछ, यसका लागि तपाई चार राजनीतिक दलहरुलाई विशेष धन्यवाद छ ।’

तर, उनले नयाँ संविधानबाट जनताको सार्वभौम सत्ता, लोकतन्त्र, गणतन्त्र, संघीयता र कानूनको शासन बलियो होस, संघीयता, लोकतन्त्र, गणतन्त्र र संघीयता असंशोधनीय प्रावधानका रुपमा रहोस् भन्ने सुझाव दिएका छन् ।

उनले मधेशको घटना सुनाउँदै यही संविधानसभाबाट नै समाधान गर्न उपयुक्त हुने धारणा समेत राखेका छन् । अमेरिकी राष्ट्रपति ओबामा र आफुले मधेश आन्दोलनमा पहाडी र मधेशी एक भई मिल्नुपर्छ भनेको प्रसंग उल्लेख गर्दै राष्ट्रपतिले यसमा ध्यान दिन आग्रह गरेका छन् ।

उनले भने-‘मेरो ७ वर्षको अनुभव छ । भोलिको राष्ट्रपति तपाईहरु नै हो । त्यसैले संविधान निर्माणमा केही कुरा ध्यान दिनु हुनेछ भन्ने मेरो विश्वास छ ।’

संविधानको मसौदा सहमतिको दस्तावेज हुनुपर्नेमा असहमतिहरुको दस्तावेज जस्तो छ भन्ने आलोचना सुन्न आएको भन्दै राष्ट्रपति डा. यादवले राजनीतिक नेतृत्वले दूरदर्शिता तथा स्टेटम्यानसिप देखाउनु पर्नेमा जोड दिएको ढुंगेलले जानकारी दिए । राष्ट्रपतिले भनेे-‘विज्ञहरुको सहयोग लिई विश्वमा गर्व गर्ने संविधान आओस भन्ने मेरो शुभकामना छ ।’

सर्वोच्च अदालतले गरेको १६ बुँदे सम्बन्धी आदेशलाई मान्न पनि राष्ट्रपतिले चारदलका नेतासँग आग्रह गरेका थिए ।

source:onlinekhabar