केटो फटहा परेछ

0 12
धराननिवासी निशा पोमू पूर्वाञ्चलकी चर्चित मोडल हुन्। मिस लिम्बू २०१२ मा ‘मिस ट्यालेन्ट’को उपाधि पाएकी उनी मोडलिङले नारीलाई आकर्षक बनाउने बताउँछिन्। मोडलिङबाट कोरियोग्राफीतिर लागेकी उनले दर्जनौं कार्यक्रमको कोरियोग्राफी गरिसकेकी छन्।
एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी उनले भविष्यमा सफल व्यवसायी बन्ने लक्ष्य लिएकी छन्। मोडेल एवं कोरियोग्राफर निशासँग रत्‍नप्रसाद आचार्य गरेको कुराकानी:
अचेल के गर्दै हुनुहुन्छ?
मोडलिङ क्षेत्रमै सक्रिय छु। धरानमा हुने फेसन सोको कोरियोग्राफी गर्छु। म्युजिक भिडियोमा मोडलिङ गर्छु।
मोडलिङ क्षेत्रमा लाग्ने वातावरण कसरी बन्यो ?
धरान यसै पनि फेसनेबल सहर। सानैदेखि पत्रपत्रिका, टेलिभिजन हेर्दा मोडलिङ क्षेत्रप्रति आकर्षित भएँ।
धरानका अग्रज दिदी कला सुब्बा र प्रियारानी लामाको प्रेरणाले पनि मलाई यस क्षेत्रमा लाग्न थप प्रेरित गर्‍यो।
अवसर पनि पाएँ । मोडलिङ क्षेत्रमा लागेको पाँच वर्ष भयो।
मोडलिङको राम्रो पक्ष के लाग्छ ?
मोडलिङ सुन्दर र प्रतिभावान् नारीका लागि आवश्यक छ। यसले नारी सौन्दर्यलाई उजागर गरिदिन्छ।
अझ ग्ल्यामर क्षेत्रबाट करिअर खोज्नेका लागि त यो क्षेत्र राम्रो प्लेटफर्म हो।
भविष्यको योजना ?
मोडलिङ र अभिनय क्षेत्रबाट अगाडि बढ्ने सोच छ। मोडलिङ एजेन्सी खोल्ने योजना पनि छ।
तर आर्थिक रूपमा यो क्षेत्र त्यति सन्तोषजनक छैन। त्यसैले केही न केही व्यवसायमा क्रियाशील हुनेछु।
बाटोमा केटाहरूले कत्तिको जिस्क्याउँछन्?
कहिलेकाहीँ जिस्क्याउँछन्। यो स्वाभाविक पनि हो। केटाले जिस्क्याउँदा धेरै राम्री छु कि के हो जस्तो पनि लाग्छ।
तर, गलत नियतले जिस्क्याए भने रिस उठ्छ। कतिलाई त गाली पनि गरेकी छु।
मोडलिङ क्षेत्रको सामाजिक छवि राम्रो छैन भनिन्छ नि ?
आफू भलो जगत् भलो। इमानदार भएर काममा लाग्नुपर्छ।
अरूले भन्दैमा केही फरक पर्दैन र त्यो सत्य पनि होइन।
 सकारात्मक सोच राखेर अगाडि बढे डराउनुपर्ने कारण नै छैन।
विवाह कहिले गर्ने?
विवाहको कुनै योजना छैन  म भर्खर २३ वर्षकी भएँ।
अहिलेको समयमा विवाह गर्न कम्तीमा ३० वर्ष त पुग्नै पर्ला।
विवाह गर्नुअघि आफ्नो खुट्टामा उभिनसक्ने हुनुपर्‍यो नि।
कस्तो केटाले लोभ्याउँछ ?
ह्यान्डसम, फराकिलो मन, सकारात्मक सोच भएको मान्छेले मलाई मात्रै होइन, सबैलाई लोभ्याउँछ।
प्रेमसम्बन्ध त होला नि कसैसँग ?
लभ पर्न खोज्दै थियो, केटा सारै फटाहा भएको थाहा पाएपछि संगत छाडिदिएँ।मन मिल्ने साथी भए प्रेम गर्नुनराम्रो कुरा हैन।
सेक्सलाई कसरी हेर्नुहुन्छ?
मानव जातिका लागि सेक्स नभई नहुने कुरा हो। तर विवाहअगाडिको सेक्स राम्रो होइन।
अझ छोरी मान्छे त अनुशासनमा रहनैपर्छ।
मोडलिङले अध्ययनमा असर गरेन ?
बीचमा हङकङ गएकाले केही समय पढाइमा बाधा पर्‍यो।
अहिले बीए प्रथम वर्षमा भर्ना भएकी छु। पढ्ने समय अझै छ।

source:annapurnapost