भारतीय प्रधानमन्त्री अर्को वर्ष पाकिस्तान जाने

0 10
रसिया : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०१६ मा पाकिस्तान भ्रमणमा जाने भएका छन् । समकक्षी प्रधानमन्त्री नवाज सरिफले दिएको निम्तो स्वीकार्दै उनी पाकिस्तान जाने भएका हुन् ।रसियाको उफामा एसियाली सम्मेलनका क्रममा भएको भेटवार्तामा सरिफले मोदीलार्इ निम्ता दिएका थिए । रसियामा शुक्रबार भएको भेटवार्तापछि जारी गरिएको संयुक्त विज्ञप्तिमा मोदी पाकिस्तान जाने जनाइएको हो ।

‘पाकिस्तानी प्रधानमन्त्रीले सन् २०१६ मा पाकिस्तानमा हुन लागेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन, सार्कको शिखर सम्मेलनका लागि पाकिस्तान आउन दिएको निम्तो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वीकार गर्नुभएको छ’, सो विज्ञप्तिमा भनिएको छ ।

यसअघि भने पाकिस्तानले दिएको निमन्त्रणा भारतीय अधिकारीहरुले अस्विकार गरिएको बताएका थिए । प्राय सबैजना दक्षिण एसियाली राष्ट्रका नेताहरुको सहभागितामा हुने यस सम्मेलनमा यसअघि पनि पाकिस्तानी प्रधानमन्त्रीले भारतलाई आमन्त्रण गरेका थिए ।

भारतीय प्रधानमन्त्री मोदी गतवर्ष सत्तामा आएपछि दक्षिण एसिया र एसियाका कयौँ देशको भ्रमण गरेपनि पाकिस्तान भने गएका छैनन् ।

आगामी वर्ष हुने यो भ्रमण नै उनी भारतको प्रधानमन्त्री भएपछिको पहिलो पाकिस्तान भ्रमण हुनेछ । सो विज्ञप्तिमा दुवै देशका प्रधानमन्त्रीले त्यस अवसरमा भेटवार्ता पनि गर्ने र त्यस क्रममा दुई देशको आगामी दिनको सम्बन्ध विकासका लागि आवश्यक पहल गर्ने कार्यक्रम पनि रहेको जनाइएको छ ।

साथै उक्त विज्ञप्तिका अनुसार यी दुई देशका सुरक्षा सल्लाहकारहरु पनि भारतीय राजधानी नयाँ दिल्लीमा भेटवार्ता गर्नछन् । यस्तो भेटवार्ता छिट्टै हुने भनिएको छ तर पनि वार्ताको मिति भने तय गरिएको छैन ।

यी दुई देशबीच वर्षेनी नियमित रुपमा हुने गरेको सुरक्षासम्बन्धी बैठक पनि केही वर्षदेखि अबरुद्ध हुदै आएको छ । सन् २००८ मा भारतको मुम्बई सहरमा भएको आक्रमणमा पाकिस्तानी पक्षको हात रहेको र सो क्रममा २६६ जनाको ज्यान गएपछि यी दुई देशबीचको यस वार्ता पनि अवरुद्ध भएको हो ।

रसियाको उफामा जारी रहेको साङ्घाई कोअपरेशन अर्गनाइजेसनको सम्मेलनका क्रममा उनीहरुबीच भेटवार्ता भएको हो । सो सम्मेलनमा चिनियाँ राष्ट्रपति सि जिनपिङको पनि सहभागिता छ । एजेन्सी

– See more at: http://annapurnapost.com/News.aspx/story/14699#sthash.siryWX5o.dpuf