साइप्रसमा नेपाली चेलीमाथि एसिड आक्रमण

0 15

बार्सिलोना । घरेलु कामदारका रूपमा साइप्रस आएकी एक ४० बर्षीया नेपाली महिलाले आफूमाथि एसिड प्रहार भएको खुलासा गरेकी छन् । देवदह -४ रुपन्देही स्थायी घर बताउने सीता भट्टराईले एसिड प्रहार भएको २५ दिनपछि मात्र यस्तो खुलासा गरेकी हुन् ।

Cyprus nepali Women

आफूले काम गर्दै आएको घरका मालिक ५९ बर्षीय सिमोसले ( थर थाहा नभएको) जानाजान धकेलेर एसिड पारेको उनले दाबी गरेकी छन् । भट्टराईको दाहिने खुट्टाको घुँडा वरिपरीको भागमा एसिड परेको छ।

मानसिक यातना दिँदै आएको घर मालिकले दुर्ब्यवहार गर्न खोज्दा आफुले प्रतिकार गर्ने गरेको र यसकै रीसमा लाई एसिड हानेको उनी बताउँछिन् ।

साईप्रसस्थित नेपालीहरुले घटनाबारे स्थानीय प्रहरीमा उजुरी गरेका छन् । पीडितको पापोसस्थित अस्पतालमा अहिले  उपचार भइरहेको छ। प्रहरीले आफुलाई सहयोग गरिरहेको र औषधि उपचार गराएको उनले बताएकी छन् ।

उनलाई साइप्रस स्थित नेपालीहरु लक्ष्मी पाठक, याङ्की ह्याल्मो लगायतले सहयोग गेकाका छन् । पीडित भट्टराईले अनलाइनखबरलाई रुँदै आफ्नो सबै वृत्तान्त सुनाइन् ।

आफ्ना श्रीमान् रोजगारकै शिलशिलामा बिगत ७ बर्ष देखि मलेसिया रहेको र कलेज पढ्ने १८ र २० बर्ष उमेरका छोराछोरीहरु नेपालमा रहेको उनी बताउँछिन् । घटना पछि उनी परिबारसँगको सम्पर्कमा नै छिन् ।

कसरी आइपुगिन् साइप्रस ?

नेपालमा बिनाशकारी भूकम्प जानुभन्दा ६ दिन अगाडि बैशाख ६ गते मात्रै उनी साइप्रसको कोरल्बे आएकी हुन्। काठमाडौ एयरपोर्ट नजिकै निलकमल म्यानपावरबाट ( पूरा नाम बताउन नसकेकी ) साइप्रसमा बिरामीको हेरचार गर्ने काम छ भन्दै मेनपावरले पठाएको भट्टराईले सुनाइन्।

साइप्रस आउनका लागि उनले ४ लाख २७ हजार रुपैयाँ म्यानपावरमा बुझाएको अनलाइनखबरलार्इ बताएकी छन् । पीडितले भनिन्,”युरोप हो, काम गर्दा सुरक्षित हुन्छ भन्ने सुनेकी थिएँ, म्यानपावरले ६०- ७० हजार कमाउन सकिन्छ भन्यो त्यसैले आएँ । बिरामी होला, मेडिसिन दिनुपर्ने काम होला, विरामी काम गर्ने परिवारसँग बस्छ होला भन्ने सोचेकी थिएँ, तर त्यस्तो रहेनछ ।”

२ महिनासम्म, एकै रात सुतिँन

घरबाट बाहिर निस्कन, छरछिमेकसँग कुरा गर्न पनि नदिने घर मालिकले उनलाई मानसिक यातना दिँदै आएको उनी सुनाउँछिन् । “दुई महिना मलाई दुई सय बर्ष जस्तो लाग्यो, कुनै रात सुतिँन ।”

उनले अनलाइनखबरसँग भनिन्- ”रिमोर्ट कन्ट्रोलवाला घरको गेट थियो, बाहिर भागेर जान सक्ने थिइन्, कन्ट्रोल उसले आफ्नै हातमा लिन्थ्यो । मैले रोएर उसलाई मोबाइलमा इन्टरनेट जोड्न अनुरोध गरें । पछि आफ्नै साथीको मोबाइल पसलबाट जोडिदियो, मैले आफ्नै पैसामा किनें ।

घरमा छोराछोरीहरु सँग कुराकानी गरें । पटक पटक उनीहरु म्यानपावर पनि पुगे । तर, पनि घर फर्कन सकिँन ।”

मसँग उसले  दुर्ब्यवहारको प्रयास गर्थ्यो । तर, आफूले प्रतिकार गर्थें । एसिड प्रहारको अघिल्लो दिन पनि यस्तै कोशिस गर्यो। घरबाट निस्केर जा, भन्दै थियो, हिसाब गर, म जान्छु भनें । शनिबारको दिन थियो, भोलि आइतबार, ल पर्सी जा भन्दै थियो मलाई ।

बिहान उठेर मैले आफ्नो काम गरें । त्यो बाहिर गाथ्यो, आयो । मैले बराण्डामा पोचा लगाउँदै थिएँ । १० लिटरको ग्यालिन थियो, ल खोल भन्यो, मैले सोचें यो गार्डेनमा हाल्ने बिषादि होला । तर, खोल्न सकिँन, मलाई भनेन कि त्यसमा एसिड छ । त्यसले खोल्यो र खोल्ने बित्तिकै  मेरो खुट्टामा पारिदियो ।

खुट्टा सबै पोल्न थाल्यो । लाएको पुरै लुगा डढ्यो । त्यसपछि मलाई थाहा भयो कि यो एसिड हो । एसिड खोल्दा खोल्दै मेरो खुट्टामा आएको हैन । त्यसले मलाई धक्का दिएको हो । उ आफैले कबुल गरिसक्यो ।

त्यसपछि रुँदा रुँदै कपडा चेन्ज गर्न, खै कसरी म एकतला माथिको रुममा पुगेंछु।  बाथरुममा गए पुरै पानीले पखालें । अर्को कपडा लगाएँ । साइटको मान्छेलाई बोलायो, मलाई माथिबाट तल ल्यायो । अनि गाडी चलाएर आफैले हस्पिटल लग्यो।”

मलाई न्याय चाहियो, न्याय दिलाइदिनु

पीडित भट्टराईले अनलाइनखबरमार्फत नेपाल सरकार वा सम्बन्धित निकायलाई अनुरोध गर्दै भनिन्, “मलाई न्याय चाहियो, न्याय दिलाइदिनु, म त यस्तो पीडामा परिसकें, अरु कोही पनि यस्तो पीडामा नपरोस् । म्यानपावरहरु कसरी चलेका छन्, कसरी पठाइराखेका छन्, छानबिन होस् ।”

उनले बिलौना गर्दै भनिन्, “म्यानपावरले साढे चार रुपैयाँ पैसा लिएपछि उनीहरुको काम सक्कियो, बाँचोस् वा लास आवोस् केही मतबल छैन । कसैको आमा, छोराछोरी र परिवारमा के बितेको छ, उनीहरुले कहिल्यै सोचेका छन् ?  म त भन्छु यी सबै म्यानपावर बन्द गरिदिनुहोस् ।”

अहिले सुरक्षित छु, नआत्तिनुहोस्

अन्याय र अत्याचारको बिरुद्द आफु खुलेर मिडियामा आएको बताउँदै आफ्नो यो खबरबाट श्रीमान्, छोराछोरी,घर परिबार आफन्तहरुलाई कत्ति पनि बिचलित नहुन उनले अनुरोध गरेकी छन् ।

पहिलेको घटना सम्झेर अहिले रोएकी हुँ, तर नेपाली समुदायको सहयोगमा आफुले प्रहरीमा उजुरी दिसकेको जनाउँदै, हिम्मत गरेर पनि अन्याय बिरुद्द लड्ने उनले बताइन् ।

साईप्रस स्थित मिडियाहरुमा उनले घटना बारे बयान दिइसकेकी छन् । आफूलाई न्याय पाउन सबैले साथ र सहयोग गरेको भन्दै सरोकारवालाहरुलाई घटनाबारे चासो राखिदिन अनुरोधसमेत गरेकी छन् ।