भूकम्पपछि पूर्वमा जग्गा कारोबार बढ्यो, कट्ठामा बिक्री हुने जग्गा धुरमा

0 14

२४ असार, विराटनगर । राजधानी र आसपासका क्षेत्रमा भूकम्पले ठूलो क्षति पुर्याएपछि पूर्वका अधिकांश सहरमा जग्गा कारोबार बढेको छ । मूल्य पनि डेढ गुणासम्म आकाशिएको छ ।

ब्यवसायीका अनुसार विराटनगर, इटहरी, धरान, विराटचोक, बेलबारी, पथरी, बिर्तामोड, दमक, काकडभिट्टा, लहान, गाइघाट लगायतका सहरमा जग्गा किनबेच बाक्लिएको छ ।

कट्ठाका हिसाबले बिक्री हुने जग्गा अहिले धुरका हिसाबले विक्री भइरहेको कारोबार दैनिकमा खबर छ ।

पहाड र राजधानीबाट विस्थापित हुनेहरुले विराटनगरलाई पहिलो रोजाइ बनाउन थालेका छन् । त्यसपछि इटहरी र अन्य सहर रोज्छन् ।

संघीय राजधानी विराटनगर बन्ने हल्लाले केही वर्षयता यहाँ जग्गा कारोबार बढेको थियो । मधेस आन्दोलनपछि केही वर्ष कारोबार शून्य भए पनि पछिल्ला तीन चार वर्षयता निकै बढेको छ । अझ भूकम्पपछि जग्गाको भाउ निकै आकाशिएको जग्गा ब्यवसायी बच्चु यादवले बताए ।

फागुन-चैतको भन्दा जेठ १५ पछि कारोबार २० प्रतिशतले बढेको जग्गा कारोबारमा लामो समयदेखि संलग्न पुष्कर कोइरालाले बताए ।