रोपाइँ छाडेर राहत लिन लाम

0 22
भक्तपुर: जिल्लाको चाँगुनारायण नगरपालिका ७ झौखेलका भूकम्पपीडित बुधबार रोपाइँ छाडेर राहत लिन लाम लागे। एन्फो नामको गैरसरकारी संस्थाले वितरण गर्ने सरसफाइसम्बन्धी सामग्री (हाइजिन किट) लिन भूकम्पपीडितले रोपाइँ नै छाडेका हुन्।
प्रतिपरिवार करिब तीन हजार रुपैयाँको उक्त राहत सामग्री लिन भूकम्पपीडितहरू बिहानैदेखि लाम बसेका थिए । एन्फोले दिउँसो १ बजेदेखि मात्रै राहत सामग्री वितरण गर्ने सूचना दिए पनि पीडितहरू बिहान दसै बजेदेखि नै लाममा बसेका थिए।
अधिकांश पीडितले खेतमा रोपाइँ छाडेरै लाममा बसेको जानकारी दिए। चाँगुनारायण नपा ७ की कान्छी श्रेष्ठले खेतमा काम गर्न मजदुर पठाएर आफू बिहान दस बजे लाममा बसेको बताइन्।
‘खेतमा रोपाहार पठाएर मचाहिँ बिहान दसै बजेदेखि लाम बसेको, बल्ल तीन बजे राहत पाइयो’, कान्छीले भनिन्, ‘खेतमा रोपाइँ नसिद्धिए पनि राहत पाइयो, ढुक्क भएँ।’
उनले रोपाइँका लागि भनेका केही लाठे र रोपाहार पनि राहत लिन सँगै लाम बसेको सुनाइन्। अर्का स्थानीय रमेश थापाले रोपाइँ गर्न बोलाइकाजति राहत लिन आएपछि बुधबार गर्ने भनिएको रोपाइँ रोक्नुपरेको बताए।
‘रोपाइँलाई भनेका सबै राहत लिनेतिर लागे’, उनले गुनासो गरे, ‘राहतले आफ्नो खेतबारी पनि बाँझै राख्नुपर्ने स्थिति आउलाजस्तो छ।’
उनले वर्षभर खानका लागि गर्नुपर्ने रोपाइँ छाडेर राहतमा लोभिने अवस्थाले भोलि परनिर्भरता बढ्नसक्नेतर्फ सचेत गरे।
एन्फोले साबिक झौखेल गाविस तथा हाल चाँगुनारायण नगरपालिका ५, ६ र ७ वडाका भूकम्पले पूर्ण रूपमा घर भत्काएका एक हजार एक सय ६५ घरपरिवारलाई उक्त हाइजिन किट बाँडेको थियो।
बुधबार झौखेल ६, ७ र ९ वडाका चार सय २६ भूकम्पपीडितलाई उक्त राहत सामग्री वितरण गरिएको थियो।
१, २, ३, ४, ५ र ८ वडाका पूर्ण घर भत्केका पीडितलाई सोमबार र मंगलबार राहत सामग्री वितरण गरिएको एन्फाका जनस्वास्थ्य प्रवद्र्धन सहायक बिभोर महर्जनले बताए।
उनले एन्फोले झौखेल गाविस हुँदै त्यहाँ सरसफाइ तथा स्वास्थ्यसम्बन्धी कार्य गर्दै आएकाले अहिले भूकम्पपीडितलाई हाइजिन किट वितरण गरिएको बताए।
उनका अनुसार भूकम्पपछि एन्फोले झौखेलका महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेर प्रत्येक घरमा सरसफाइ तथा हात धुने तरिकाबारे सचेत गर्दै आएको छ।
त्यस्तै झौखेलभित्र रहेका स्कुलमा स्वास्थ्य तथा सरसफाइसम्बन्धी अभिमुखीकरण तथा हात धुने विधि सिकाइ र प्रतियोगितात्मक सरसफाइसम्बन्धी प्रवद्र्धन कार्यक्रम गरिएको जानकारी महर्जनले दिए।
 source:annapurnapost