राष्ट्रपतिले भाषण गर्दा सभामुखलाई सकस ! संसदमा राष्ट्रपतिले पानी माग्दा बाहिर मुसलधारे वर्षा

0 1

असार, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले व्यवस्थापिका संसदमा सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा सभामुख सुभास नेम्वाङलाई समय बिताउन सकस परेको देखियो । राष्ट्रपतिसित हाराहारी बसेका सभामुख नेम्वाङ निद्रा लागेर पटक-पटक हाइ गरिरहेका थिए ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति र सभामुख एउटै लहरमा बसेका थिए । राष्ट्रप्रमुखसित लगभग टाँसिएर सभामुख बस्दा केही असहज देखिए पनि यो पुरानै प्रचलन रहेको एक पूर्वसभामुखले बताए ।

‘नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति र सभामुख एकै हारमा बस्ने प्रचलन छ,’ पूर्वसभामुख तारानाथ रानाभाटले अनलाइनखबरसँग भने, यो पुरानै चलन हो, राजाका पालामा पनि यस्तै हुन्थ्यो ।’

टेलिभिजको लाइभ दृश्यमा पनि राष्ट्रपति र सभामुखलाई एउटै फ्रेममा राखिएको थियो । राष्ट्रपतिले नीति तथा कार्यक्रम पढिरहँदा सभामुख केहीबेर ध्यान केन्द्रित गर्न खोज्थे, तर, नसकेर कहिले मुख छोपेर हाई काढ्थे त कहिले नाक मुसार्थे, कहिले घोप्टो पर्थे ।

नीति तथा कार्यक्रमको भाषणमा अधिकांश सभासदहरु राष्ट्रिय पोशाकमा थिए । मधेसी दलहरु बहिष्कारमा रहेकाले पनि अन्यको पोशाकमा एकरुपता देखिएको थियो ।

राष्ट्रपतिले पढ्दा पढ्दै पानी मागे !

व्यवस्थापिका संसदमा सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला राष्ट्रपति डा. रामवरण यादव एकै छिन रोकिए । र, भने यहाँ पानी ल्याएर राख्नोस् न ।

राष्ट्रप्रमुखलाई संसदमा स्वागत गर्नका लागि संसदभवन बाहिर राष्ट्रिय झण्डा र पुष्प गुच्छाहरु सजाएर झकिझकाऊ पारिएको थियो । तर, एकघण्टा लामो सम्बोधन गर्नुपर्ने राष्ट्रपतिलाई पिउनका लागि पानीसम्म राखिएको थिएन ।

राष्ट्रपतिले सम्बोधनकै वीचमा मुखै फोरेर पानी मागेपछि बल्ल गिलासमा पानी दिइएको थियो । उता सम्बोधन सकेर राष्ट्रपति यादव संसदबाट बाहिरिने क्रममा उनलाई सलामी दिन बसेका सुरक्षाकर्मीहरु मुसलधारे पानीमा भिजेर मुसोजस्तै बनेका थिए । उनीहरुले भिजेकै अवस्थामा राष्ट्रपतिलाई सलामी अर्पण गरेर विदाइ गरे ।

संसदबाट बाहिरिने बेलामा सुरक्षाकर्मीले देखाएको बाटो क्रस गरेर राष्ट्रपतिले फ्लोरमा केही समय बिताएर सभासदसँग अभिवादन साटेका थिए ।

 

You might also like More from author