नदीको कटानले भिमादका ५० घर जोखिममा

0 11

२३ असार, दमौली । सेतीनदीमा बर्सेनि हुने कटानका कारण तनहुँको भिमाद बजारका ५० भन्दा बढी घर खतरामा रहेका छन् ।

सेती नदीले बर्सेनि कटानी गर्दै जाँदा ती घर खतरामा परेका हुन् । बर्खायाम सुरु भएपछि आफूहरुको भोक र निन्द्रा हराउने गरेको त्यहाँका बासिन्दा बताउँछन् ।

बजेट अभावले नदी नियन्त्रण गर्न नसक्दा ती घर खतरामा रहेको सेतीनदी नियन्त्रण तथा बजार व्यवस्थापन समितिका अध्यक्ष श्यामसुन्दर जोशीले बताए ।

यस वर्ष सांसद विकास कोषबाट प्राप्त भएको एक लाख ४५ हजार रूपैयाँ र ६० हजार रूपैयाँ आन्तरिक स्रोतबाट गरी दुई लाख पाँच हजार रूपैयाँमा २५ वटा तारजाली भर्ने काम भएको उनले बताए ।

आवश्यक तटबन्धनका लागि राष्ट्रिय योजना आयोग र जलस्रोत मन्त्रालयमा राष्ट्रियस्तरको योजना माग्ने कामसमेत भइरहेको जोशीले बताए ।

अहिलेसम्म पटकपटक गरी २५ लाख रूपैयाँ नदी नियन्त्रणका लागि खर्च भए पनि सोचेअनुसारको काम हुन नसकेको स्थानीय बासिन्दाको गुनासो छ ।

रडसहितको आरसिसी वाल उठाउन रु १५/२० करोड लाग्ने भएकाले सो रकम केन्द्रीयस्तरबाट माग्ने काम भइरहेको समितिका सचिव राजु परियारले बताए